उपनिर्वाचनलाई प्रतिष्ठा बनाउँदै पहिचान पक्षधर

इलाम । किरात धर्मावलम्बीहरुले पवित्रस्थल मान्ने माङ्सेबुङमा पहिचान पक्षधरले बुधबार शक्ति प्रदर्शन गरेका छन् ।

माङ्सेबुङ गाउँपालिका–५, भालुटारमा गरिएको सभाका लागि धरान, विराटनगर लगायत शहरी क्षेत्रबाट समेत मानिस लगिएका थिए ।

शक्ति प्रदर्शनको आयोजना भने प्रदेशको नाम कोशी राख्ने निर्णयप्रति असन्तुष्ट ४१ राजनीतिक तथा सामाजिक संस्थाहरुले संयुक्त रुपमा गरेका थिए । अर्थात् प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाएर एक वर्षदेखि सडक आन्दोलन (विशेष गरी विराटनगर केन्द्रित) गरिरहेका पहिचान पक्षधर अभियन्ताहरु इलाम पुगेका हुन् ।

इलाम–२ मा आगामी १५ वैशाखमा उपनिर्वाचन हुने भएकाले आफूहरु पनि यही केन्द्रित भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन बताउँछन् । उनका अनुसार, उपनिर्वाचनलाई पहिचान पक्षधरले आन्दोलनकै अर्को रूप मानेको छ ।

‘शान्तिपूर्ण युद्धका लागि देशका सबै तप्कामा पहिचानवादीहरु तयार छन् र एकजुट छन् भन्ने सन्देश दिने अवसरको रुपमा उपनिर्वाचनलाई लिएका छौं’, उनी भन्छन् । ४१ वटा संस्थाहरुले डकेन्द्र सिं थेगिमलाई साझा उम्मेदवार बनाउन सक्नुले राम्रो सन्देश गइसकेको उनको तर्क छ ।

विगतमा पहिचान पक्षधरहरुबाट कमजोरी भएकाले त्यसलाई सच्याउने अवसर पनि उपनिर्वाचन बन्न पुगेको उनीहरु बताउँछन् । ‘लिम्बुवान आन्दोलन चरम उत्कर्षमा पुगेको बेला नेतृत्वमा रहेकाहरुले संगठन फुटाउँदै नयाँ संस्था र पार्टी दर्ता गर्ने काम गरियो, तर अब पाठ सिक्नुपर्छ’, लिङ्देन भन्छन् ।

प्रदेशको नाम परिवर्तन गर्न एकताबद्ध प्रयत्नको खाँचो रहेको उनको तर्कमा अरुले पनि विमति राखेका छैनन् । त्यसैले अरु राजनीतिक दललाई उछिनेर उनीहरुले डकेन्द्र सिंह थेगिमलाई साझा उम्मेदवार टुंगो लगाएका थिए ।

अहिले उनीहरुले थेगिमको उम्मेदवारीलाई पहिचानको आन्दोलनसँग जोडेका छन् । बुधबारको सभामा वक्ताहरुले त थेगिमको उम्मेदवारीलाई अन्तिम लडाईं समेत भने । अर्थात् थेगिमलाई प्रतिष्ठा मानेर सम्पूर्ण शक्ति उपयोग गर्ने नीति पहिचान पक्षधरले लिएका छन् ।

मुख्य समाचार राजनीति समाचार