वाइडबडीमा १ अर्ब ४७ करोडको भ्रष्टाचार मुद्दा, पूर्वमन्त्री शाहीसहित ३२ जना प्रतिवादी

दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ । अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ ।

शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौली र अच्युतराज पहाडीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

शाही कर्णाली कांग्रेस संसदीय दलका नेता हुन् । तत्कालीन पर्यटनमन्त्री शाही संघीयता कार्यान्वयनपछि मुख्यमन्त्री समेत भएका थिए । कंसाकार भने अहिले सार्वजनिक जिम्मेवारीमा छैनन् ।

के हो प्रकरण ?

नेपाल वायुसेवा निगमले बजार विस्तारका लागि भन्दै दुईवटा वाइडबडी विमान खरिद गर्ने निर्णय गरेको थियो । त्यसक्रममा नियमले अमेरिकाको एएआर इन्टरनेशनल नाम कम्पनी छनाेट गरेको थियो । एउटा कम्पनी छनाेट भएकोमा पछि खरिदको समझदारी (एमओयू) गर्ने क्रममा एएआरका साथै जर्मन एभिएसन क्यापिटल र हाइफ्लाई एरोज पोर्चुगल कम्पनी मिसिए ।

तीनवटा कम्पनीको कन्सोर्टियम बनाएर विमान खरिदबिक्रीको सम्झौता भएको थियो । यी तीनवटै कम्पनीले आयरल्याण्डमा हाइफ्लाई एक्स नामक कम्पनी स्थापना गरे । नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि उसैसँग सम्झौता गरेको थियो ।

विमान तयार भएपछि रकम भुक्तानीका लागि जर्मनीकै नटर्न रोज फुलब्राइट नामक कम्पनीसँग सम्झौता भएको थियो । दुईवटा पक्षले विश्वास गरेको तेस्रो पक्षको खाता, जसलाई एस्क्रो खाता भनिन्छ, मा रकम राखी सम्झौता अनुसारको काम भएको भुक्तानी गरिएको थियो । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर करिव २४ अर्ब रुपैयाँमा दुईवटा वाईडबडी विमान खरिद गरेको थियो ।

२०१७ फेब्रुअरी २१ तदनुसार, २०७३ साल फागुन १० गते स्थापित उक्त कम्पनीले एयरबस कम्पनीबाट दुईवटा वाइडवडी विमान खरिद गरी २४ अर्ब रुपैयाँमा नेपाल वायुसेवा निगमलाई बेचेको हो ।

१ मार्च २०१७ (२०७३ फागुन १८ गते) मा बैना स्वरुप १० लाख अमेरिकी डलर भुक्तानी गरेको निगमले १९ जुन २०१७ (२०७४ असार ५ गते) मा थप ७ करोड ९० लाख भुक्तानी गरेको थियो । २८ जुन २०१८ (२०७५ असार १४ गते) र २६ जुलाई (२०७५ साउन १० गते) मा नेपालमा दुईवटा वाइडबडी विमान ल्याइएको थियो ।

मुख्य समाचार राजनीति समाचार