चैत्र मसान्तसम्म पनि माग सम्बोधन नभए आन्दोलनमा उत्रने मकवानपुर जिल्ला दुग्ध सहकारी संघको चेतावनी

२२ चैत,हेटौंडा – तोकिएको समयसिमा भित्र पनि दुग्ध उद्योगहरुबाट दुग्धको भुक्तानी नभएको भन्दै मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले आन्दोलन गर्ने चेतावनी दिएको छ । गत फागुनमा केन्द्रिय दुग्ध सहकारी संघ र नेपाल सरकार कृषि मन्त्रालय अन्तरगत दुग्ध विकास संस्थान तथा निजी डेरीहरु बिच भएको सम्झौता अनुसार यहि चैत्र २१ गतेसम्म पौष मसान्तसम्मको दुधको भुक्तानी गर्ने सहमति भएको थियो । तर सो समयसीमा सकिंदा सम्म पनि सम्झौता अनुसार भुक्तानी नभएको भन्दै संघले आन्दोलन गर्ने चेतावनी दिएको हो ।

संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना विभिन्न ४ बुँदे मागहरु चैत्र समान्त भित्र पुरा हुनुपर्ने जनाएको छ । जसमा – सम्झौता अनुसारको दुग्धको भुक्तानी चैत्र मसान्त भित्र गरिसक्न पर्ने साथै बाँकी भुक्तानी निरन्तर दिने ब्यवस्था गर्नुपर्ने, किसानबाट उत्पादित दुग्ध निरन्तर बिक्री हुने ब्यवस्था मिलाउनुपर्ने, दुग्ध उत्पादक किसानलाई दिंदै आएको लिटर अनुदान निरन्तर दिने ब्यवस्था गरिनुपर्ने र पशु बिमालाई सहकारी संस्था मार्फत गर्ने ब्यवस्था गरिनु पर्ने उल्लेख छ ।

संघले जारी गरेको विज्ञप्ति:


“कुनै पनि मुलुकको आर्थिक तथा सामाजिक विकासमा कृषि र पशुपालनले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । नेपाल त झन कृषिप्रदान देश हो । यहाँ का ६५ प्रतिशत किसानहरु कृषि र पशुपालनमा आधारित भएर आफ्नो जीवनयापन गरिरहेका छन् भने मुलुकको अर्थतन्त्रलाई समेत टेवा पुर्‍याइरहेका छन् । दुग्ध उत्पादक किसानहरुले पशुपालन गरी दुग्ध लगायत समग्र खाद्यान्नमा समेत आत्मानिर्भर बनाउन महत्वपुर्ण योगदान पुर्‍याएका छन् । पशुपालन गरेर मुलुकलाई दुग्ध र खाद्यान्नमा आत्मानिर्भर बनाउन योगदान पुर्‍याउन सहयोग पुर्‍याउने तिनै किसानको आज आएर भविष्य अन्धकार बनेको छ ।

मुलुकका सम्पुर्ण पिडादायी किसानसँगै मकवानपुरका किसान पनि अत्यन्तै पिडीत छन् । आज किसानबाट उत्पादित दुध खरिद गर्ने केही निजी उद्योग बाहेक अधिकांश निजी तथा सरकारी दुग्ध उद्योगबाट विगत ५ महिना देखि दुधको भुक्तानी प्राप्त भईरहेको अवस्था छैन । किसानको ५ महिना देखि आर्थिक पक्ष बिग्रीएर पिडीत बन्नु परेको अवस्था छ । दुग्ध उत्पादक किसानका यिनै पिडा सम्बोधन गर्दै केन्द्रिय दुग्ध सहकारी संघ र जिल्ला दुग्ध उत्पादक सहकारी संघहरुद्धारा २०८० फागुन १४ गते देखि आन्दोलनका विभिन्न कार्यक्रम गरिएको र आन्दोलनकै क्रममा केन्द्रिय दुग्ध सहकारी संघ र नेपाल सरकार कृषि मन्त्रालय अन्तरगत दुग्ध विकास संस्थान तथा निजी डेरीहरु बिच भएको सम्झौता अनुसार किसानहरुको दुग्ध बिक्रीको भुक्तानी चैत्र २१ गते भित्र पौष मसान्त सम्मको सम्पुर्ण भुक्तानी दिने र बााकी भुक्तानी माघ महिना देखि निरन्तर भुक्तानी गर्दै जाने भनी सम्झौता भएकोमा सम्झौतामा उल्लेखित समयमा दुग्ध वितरण आयोजना र निजी डेरी उद्योगीहरुबाट कुनै पनि भुक्तानी नभएकोमा सम्झौता गरेर पनि कार्यान्वयन नगर्नुलाई किसानका वर्तमान समस्या प्रति सरकार र उद्योगी गम्भिर नभएको प्रती मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ खेद प्रकट गर्दछ ।

साथै किसानको पसिनाको मुल्य भुक्तानी प्रती सम्बद्ध पक्ष समयमा गम्भिर नभएमा आन्दोलनको आधिबेरी सृजना गर्नुपर्ने अवस्था नआओस भनि सचेत रहन आग्रह गरिन्छ । साथै हाम्रा समस्या प्रति बेवास्था गर्ने सरकार र निजी दुग्ध उद्योगीहरु विरुद्ध निर्णायक आन्दोलनमा सहभागी हुनुपर्ने अवस्थाको सिर्जना भईरहेको हुँदा सम्पुर्ण दुग्ध उत्पादक किसानहरुलाई तयारी अवस्थामा रहन समेत अनुरोध गर्दछौं । साथै किसानका भुक्तानी समयमा गरी किसानले पाउादै आएको लिटर अनुदानहरु विगत वर्षहरुमा भन्दा बृद्धि हुनेगरी स्थायी रुपमा वार्षिक कार्यक्रममा समावेश गर्न समेत अनुरोध गर्दछौं । हाम्रा निम्न मागहरु चैत्र मसान्त सम्ममा ध्यान नदिएमा सशक्त आन्दोलमा उत्रने समेत जानकारी गराउन चाहन्छौ । साथै केन्द्रिय दुग्ध सहकारी संघ लि. ले तत्सम्बन्धि विषयलाई लिएर निकालेको बिज्ञप्ति प्रती मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको पुर्ण ऐक्यबद्धता रहेको समेत अवगत गराउन चाहन्छौं ।”

मुख्य समाचार सहकारी