मकवानपुर प्रहरीद्वारा ७७ लाख बराबरको अवैध सामान बरामद

मकवानपुर प्रहरीले मंगलबार ७७ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नं.७ बाट ७७ लाख मुल्य बराबरको भन्सार छलिका मालसमानहरु बरामद गरेको हो ।

पूर्व–पश्चिम सडकखण्ड अन्तर्गत पर्ने लोथरबाट हेटौंडातर्फ आउँदै गरेको बागमती विएडी ४३७० नम्बरको गाडीबाट उक्त मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, गाडीलाई रितपुर्वक चेकजाँच गर्दा उक्त गाडीमा अवैध भन्सार छलि चोरी पैठारी गरी बिलबिजक नभएका साडी, कुर्थासुरुवाल, टि–सर्ट, पाईन्ट, जुत्ता लगायतका लत्ताकपडाहरु २७४४ थान, आईफोन, सामसुङग, भिभो, आईटेल, रेड्मीलगायतका ८२ थान मोबाइलहरु र सवारी साधन समेत बरामद गरिएको हो ।

उक्त सामान इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।

साथै प्रहरीले उक्त मालसमानहरु बोकेको गाडी चालक उदयपुर त्रियुगा नगरपालिका वडा नं. १३ बस्ने २८ वर्षीय राज कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा रहेका उनलाई बरामद सामानसहित आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईएको जनाइएको छ ।

मुख्य समाचार समाचार समाज