हेटौंडा । बागमती प्रदेशमा भागवण्डा मिलाउन सामाजिक विकास मन्त्रालय फुटाइएको छ । बिना बिभागिए मन्त्री रमा आले मगरका लागि मन्त्रालय दिनकै लागि भनेर यहाँको १२ वटा मन्त्रालयलाई बिभाजन गरेर १३ वटा बनाइएको हो ।
प्रदेशको मन्त्रिपरिषद्को बैठकले बिनाविभागीय मन्त्री रमा आलेमगरलाई जिम्मेवारी दिनका लागि उक्त मन्त्रालय टुक्र्याएर युवा तथा खेलकुद मन्त्रालय बनाउने बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । एकीकृत समाजवादीकी सांसद मगर डेढ महिनाअघि बिनाविभागीय मन्त्री बनेकी थिइन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खर्च कटौतीका लागि मन्त्रालयको संख्या यसअघि १४ बाट घटाएर १२ कायम गरेका थिए । उनले आफ्नो सरकार जोगाउन फेरि मन्त्रालयको संख्या थपेका हुन् ।
बागमती प्रदेश सरकार स्थापना भएको साढे ६ वर्षमा चार पटक मन्त्रालय विभाजन भएका छन् ।
चारै पटक मन्त्रालय फुटाउने र जुटाउने कार्यमा गठबन्धन टिकाउनु प्रमुख कारण बनेको छ । २०७४ मा प्रदेश स्थापना भएपछि पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले ७ वटा मन्त्रालय बनाएका थिए । साढे ३ वर्ष सरकारमा बसेका उनले ७ वटै मन्त्रालयबाट सरकार चलाएका थिए । तत्कालीन नेकपा विभाजनपछि भने बागमतीमा मन्त्रालय टुटफुट चलिरहेको छ । पछिल्लो पटक वर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रालय विभाजन गरे । सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय आज बुधवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
सामाजिक विकास मन्त्रालय नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तानले सम्हाल्दै आएकी छन् । गत १९ चैतमा विनाविभागीय मन्त्री नियुक्त भएकी नेकपा ९एकीकृत समाजवादी०की रमा आले मगरलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । बागमतीमा अब १३ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउन मगरलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए । विश्वासको मतका लागि एक सांसदको समर्थन आवश्यक भएको अवस्थामा मन्त्री मगर प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि उनलाई मन्त्रीमा नियुक्त गरिएको थियो ।
जम्कट्टेलले डेढ वर्षको कार्यकालमा दुई पटक मन्त्रालय विभाजन गरे । यसअघि नेपाली कांग्रेस, एकीकृत समाजवादीसहितको सरकारमा कांग्रेसबाट रामकृष्ण चित्रकारलाई जिम्मेवारी दिन मन्त्रालय विभाजन गरेका थिए ।
७ जेठ २०७९ मा मन्त्रिपरिषद विस्तार गर्दा चित्रकारलाई विनाविभागीय मन्त्री बनाइएको थियो । ५ भदौमा उनलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो । त्यतिबेला पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरेर थपिएको उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा चित्रकारलाई दिइएको थियो ।