जनता समाजवादी पार्टी, नेपालको महाधिवेशन अन्तर्गत् मंगलबार बन्द सत्र जारी छ।
जनकपुरको तिरहुतिया गाछीमा जारी बन्द सत्रमा अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दस्तावेज प्रस्तुत गरिरहेका छन्।
यसअघि पाँच सदस्यीय अध्यक्ष मण्डल बनाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
पाँच सदस्यीय अध्यक्ष मण्डलमा उपेन्द्र यादव, रकम चेम्जोङ, लालबाबु राउत, मृगेन्द्रकुमार सिंह र लिला सिटौला छन्।
राजनीतिक प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिसकेपछि त्यसमाथि समूहगत छलफल हुनेछ।
महाधिवेशनमा करिब १३ सय प्रतिनिधि सहभागी छन्।
महाधिवेशनले २०१ सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित गर्नेछ। जसमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५ जना निर्वाचित हुनेछन्।
त्यस्तै महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ जना चुनिनेछन्।
यसअघि विधान अधिवेशनले १७ सदस्यीय पदाधिकारी बनाउने निर्णय गरे पनि विधानमा पुनः संशोधन गरेर पदाधिकारी संख्या बढाउन लागिएको बस्नेतले बताए।
२०६३ सालमा मधेशी जनअधिकार फोरमले राजनीतिक दलको रूप लिएसँगै २०६५ सालमा वीरगञ्जमा पहिलो महाधिवेशन भएको थियो।
त्यसयता १६ वर्षपछि एकता महाधिवेशन हुन लागेको हो। अध्यक्षमा उपेन्द्र यादव नै दोहोरिने सम्भावना रहेको एक प्रतिनिधिले बताए। बाँकी पदमा प्रतिस्पर्धाको सम्भावना रहेको ती नेताको भनाइ छ।
महाधिवेशनको मुखैमा जसपा नेपाल विभाजन भएको थियो। संघीय परिषद अध्यक्ष अशोक राईले सात प्रतिनिधि सभा सांसद लिएर नयाँ पार्टी गठन गरी सरकारमा सामेल भएका थिए।
जसपा नेपालबाट विभाजन भई बनेको जनता समाजवादीलाई निर्वाचन आयोगले वैधता दिएको भन्दै जसपा नेपालका अध्यक्ष यादव सर्वोच्च अदालत पुगेका थिए। अदालतले यो मुद्दामा संवैधानिक इजलासमा पठाएको छ।