राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै अभिलेख हुने बनाउनुपर्छ : सांसद दाहाल

राष्ट्रियसभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले राष्ट्रिय परिचयपत्रलाई स्थानीय तहबाटै अभिलेख गर्ने गरी सहज बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन्।

आइतवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले सरकारले राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गराउनेभन्दा अहिले सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने नागरिक र अपांगता भएका नागरिकलाई समस्या परिरहेको बताइन्।

उनले राष्ट्रिय परिचयपत्रलाई स्थानीय तहबाटै अभिलेख गर्ने गरी सहज रूपमा वडाबाटै दिने गरी व्यवस्था गर्न आवश्यक रहेको बताइन्।

दाहालले भनिन्, ‘नेपाल सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गराउने भनेको छ। राष्ट्रिय परिचयलाई एकीकृत गर्ने दूरगामी उद्देश्यका हिसाबले यो ठिक होला तर सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने नागरिकलाई अनिवार्य भनिदिँदा जनमानसमा कठिन भएको छ। खासगरी ज्येष्ठ नागरिक र अपांगहरूलाई अनावश्यक रुपमा अनिवार्य भन्दा उहाँहरूले दुःख पाइरहनुभएको छ। राष्ट्रिय परिचयपत्रलाई स्थानीय तहबाटै अभिलेख गर्ने गरी सहज रूपमा वडा तहमै वितरण गर्ने गरी व्यवस्था गर्न आवश्यक छ।’

 

मुख्य समाचार राजनीति समाचार