यो वर्ष सरकारले ४ खर्ब रुपैयाँको काठ बेच्ने वनमन्त्रीको दावी

वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सरकारले यो वर्ष ४ खर्ब रुपैयाँको काठ बेच्ने बताएका छन्।

आइतवार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री सुडीले सरकारले मन्त्रिपरिषद्‌बाट काठको मूल्य ३५ प्रतिशतले घटाउने निर्णय गरेको भन्दै अब सरकारले ४ खर्ब रुपैयाँको काठ बेच्ने बताएका हुन्। उनले विगतमा काठको मूल्य बढी भएकाले नेपालकी काठ नबिकेको बताए।

उनले एक, दुई महिनाभित्रै सबै नियम, कानून मिलाएर नेपाली काठलाई मलेसियन काठभन्दा महँगो पर्न नदिने बताए। उनले वन ऐन २०२९ लाई छिटोभन्दा छिटो संशोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै आफू त्यसमा दृढ संकल्पित रहेको बताए। उनले वन ऐन संशोधन गर्नका लागि संसद्‌मा छिटो पेश गरिने जानकारी दिए।

मन्त्री सुडीले भने, ‘यही एकदुई महिनाको अन्तर्गत सबै नियम, कानुन बनाए हाम्रो काठ मलेसियाको काठभन्दा महँगो पर्दैन। वन ऐन २०२९ का लागि म दृढ संकल्पित छु। यो ऐनलाई सुधार गर्नुपर्छ। पञ्चायती व्यवस्थामा बनेको कानुनले अहिले पनि वन मन्त्रालय सञ्चालन गर्नु कति जायज छ? ४ वर्षदेखि हाम्रो काठको एक पैसा पनि आएको छैन। त्यसैले अल्पकालमा हामीले मन्त्रिपरिषद्‌बाट ३५ प्रतिशत पैसा घटाएका छौँ। सरकारले यसपालि ४ खर्ब रुपैयाँको काठ बेच्छ र ४ खर्ब रुपैयाँ वन मन्त्रालयको आम्दानी हुन्छ।’

मन्त्री सुडीले नेपालमा आवश्यक पर्ने काठ नेपालकै प्रयोग गर्नुपर्नेमा जोड दिए। उनले विदेशी काठ उपयोग नगर्ने नीति लिनुपर्ने बताए। उनले सामुदायिक वनलाई नियमन तथा अनुगमन गरेर अझ बलियो बनाउनुपर्ने बताए। उनले एक व्यक्तिले कम्तिमा १० वटा रूख रोप्नुपर्नेमा जोड दिए।

 

मुख्य समाचार राजनीति समाचार