गोली हानेर मान्छे मार्ने आरक्षका सुरक्षाकर्मीलाई तत्काल कारबाही गर्नुपर्छ : बर्तौला

नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले पर्सा वन्यजन्तु आरक्षका सुरक्षाकर्मीले स्थानीय सुकबहादर तितुङलाई गोली हानी हत्या गरेको आरोप लगाउँदै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले हटौँडा उपमहानगरपालिका वडा नम्बर १० निवासी तितुङलाई सो आरक्ष क्षेत्रको पसेको भन्दै त्यहाँको सुरक्षाकर्मीले गोली हानेर हत्या गरेको उल्लेख गर्दै त्यस्तो जघन्य अपराधमा संलग्नमाथि तत्काल कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रमुख सचतेक बर्तौलाले पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए। उनले निकुञ्ज, आरक्षण र मध्यवर्ती क्षेत्र आसपासका स्थानीयलाई त्यहाँका प्रशासन, वन्यजन्तुले दुःख दिने गरेको उल्लेख गर्दै त्यस्तो हुन नदिन पनि सरकारलाई ध्यान दिन आग्रह गरे।

उनले भने, ‘मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ निवासी सुकबहादुर तितुङ, उनको घर आँगनमा नै जंगल जोडिएको छ। जहाँ मध्यवर्ती क्षेत्र पर्छ। मध्यवर्ती क्षेत्र जोडिएको त्यो वनभित्र उनी गए केही साथीहरुसहित। पर्सा बन्यजन्तु आरक्षका कर्मचारीहरुले, सुरक्षाकर्मीहरुले, त्यहाँ खटिएका नेपाली सेनाले सुकबहादुर तितुङलगायत त्यहाँका जनताहरुलाई आक्रमण गरे। गोली हानेर सुकबहादुर तितुङलाई हत्या गरे। यसरी नागरिकलाई दिनदहाडै गोली ठोकेर मारिदिने जे परिस्थिति विकास भयो। आरक्षणका कर्मचारी, सुरक्षा निकायबाट। यो अपराध कर्ममा जोडिएका दोषी देखिएका सुरक्षाकर्मीहरुलाई आवश्यक कारबाहीको प्रक्रिया र पीडितलाई क्षतिपूर्तिको बन्दोबस्तका लागि नेपाल सरकारसँग जोडदार माग गर्न चाहन्छु।’

प्रमुख सचेतक बर्तौलाले नागरिकलाई दिनदहाडै गोली हानेर हत्या गर्ने जस्तो जघन्य अपराध गर्नेहरुमाथि सरकारले कडा कारबाही गर्नुपर्ने बताए।

मुख्य समाचार राजनीति समाचार