देशभर ५ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न

देशभर ५ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । देशभरको १३ लाख ९८ हजारमध्ये ५ लाख ३९ हजार ७६६ हेक्टर (३८.६ प्रतिशत) रोपाई सम्पन्न भएको कृषि विभागले जनाएको छ ।

उक्त तथ्याङ्क असार २३ गते आइतबारसम्मको हो । तथ्यांक अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम मधेश प्रदेशमा रोपाइँ सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेशमा ९४ हजार ६९९ (५४.२ प्रतिशत) र मधेश प्रदेशमा २५.५ प्रतिशत अर्थात ९७ हजार ८५१ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ हुन सकेको विभागको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, कोशी प्रदेशमा ९५ हजार १७० हेक्टर (३४.४ प्रतिशत), बागमती प्रदेशमा ४६ हजार ४४ हेक्टर (४०.२ प्रतिशत), गण्डकी प्रदेशमा ४७ हजार ७३३ हेक्टर (४९.७ प्रतिशत), लुम्बिनी प्रदेशमा १ लाख ३८ हजार ३६४ हेक्टर (४४.४ प्रतिशत ), कर्णाली प्रदेशमा १९ हजार ९०४ हेक्टर (४७.५ प्रतिशत) क्षेत्रफलमा धान रोपाइँ भएको विभागको तथ्यांकमा उल्लेख छ ।

गत वर्ष असार २४ सम्ममा देशभर ४२ प्रतिशत रोपाइँ भएको थियो ।

मुख्य समाचार राजनीति समाचार