बागमतीका नवनियुक्त मुख्यमन्त्रीको शपथ भोलि

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामाले पद तथा गोपनियताको शपथ भोलि बुधबार मात्रै ग्रहण गर्ने भएका छन् ।

नवनियुक्त मुख्यमन्त्री लामालाई भोलि साउन ९ गते बिहान ११ बजेर ११ मिनेटको समयमा पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार, लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गराउनेछन् ।

मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि मंगलबार बेलुकी ५ बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

गत असार २४ गते नेकपा एमालेबाट सरकारमा सहभागी पाँच मन्त्रीले सामूहिक राजीनामा दिएपछि अल्पमतमा परेका शालिकराम जम्कट्टेलले साउन ६ गते आइतबार प्रदेश प्रमुख समक्ष पदबाट राजिनामा दिएका थिए ।

निवर्तमान मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार