प्रधानाध्यापक शिक्षा सेवा आयोगबाट ल्याउने व्यवस्था गर्न माग

सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले विद्यालयका प्रधानाध्यापक शिक्षा सेवा आयोगबाट ल्याउने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ।

विद्यालय शिक्षा विधेयक संसदमा पेस भएको उल्लेख गर्दै उहाँले त्यहाँ सो कुरालाई समावेश गर्न सरकारसँग माग गर्नुभएको हो।

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद भण्डारीले विद्यालय तहको नेतृत्व प्रधानाध्यापकले गर्ने भएकाले उसले दृढ भएर काम गर्न पनि सो आयोगले चयन गर्नुपर्ने बताउनुभयो। सांसद भण्डारीले अन्तर्राष्ट्रिय क्षेत्रमा अनुसन्धान गरिरहेकालाई विश्वविद्यालयको नेतृत्वमा पुर्‍याउन पनि सरकारलाई सचेत गराउनुभयो।

उहाँले भन्नुभयो, ‘अहिले शिक्षा विधेयक आएको छ। त्यो शिक्षा विधेयकलाई हामीले कुनै पनि नेतृत्व इच्छाशक्तिको भएन भने, कुनै नेतृत्व दृढ भएन भने, कुनै नेतृत्वले आफ्नो संस्थालाई परिवार सम्झेन भने कुनै पनि ठाउँ, कुनै पनि देश अगाडि बढ्न सक्दैन। त्यसकारण विद्यालयका हेडमास्टरलाई शिक्षा सेवा आयोगबाट ल्याउने व्यवस्था गर्‍यो भने त्यो हेडमास्टरबाट, त्यो नेताबाट शिक्षा क्षेत्र अगाडि बढ्न सक्छ भन्ने मलाई लाग्छ। आज विश्वविद्यालय नेताविहीन जस्तो छ। त्यहाँको प्रोफेसर, जसले अनुसन्धानको क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमा काम गर्नसक्छ, उसलाई नेतृत्व दिएमात्रै विश्वविद्यालय चलाउन सक्छ।’

सांसद भण्डारीले विश्वविद्यालय अहिले नेतृत्वविहीन जस्तो अवस्थामा रहेको भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो।

मुख्य समाचार राजनीति समाचार