कामदार भर्नालाई लिएर युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन

हेटौंडा, ११ साउन/हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले कर्मचारी तथा कामदार भर्ना गर्दा बिना बिज्ञापन भर्ना गरेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रेका छन् ।

हालै उद्योगमा कर्मचारी भर्ना गर्दा बिना बिज्ञापन अन्य स्थानबाट सिधै भर्ना गरेको र स्थानीयलाई प्राथमिकता नदिएको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रेका हुन् ।


उद्योगमा आवश्यक कर्मचारी नियुक्तिमा स्थानीयहरुलाई प्राथामिकता नदिएकोले स्थानीयहरु आन्दोलनमा आन्दोलनमा उत्रिन परेको स्थानीय बिजन लटौलाले बताए ।
उद्योगले  बिज्ञापन नै नगरी गुपचुप शैलीमा कर्मचारी तथा कामदार भर्ना गरेको स्थानीय लटौलाले बताए ।


स्थानीयहरुले आफ्नो योग्यता अनुसारको रोजगारी पाउनु पर्ने भन्दै विगत तीनदेखि उद्योगको गेटमा धर्ना दिदै आईरहेका छन् । कर्मचारी भर्नाको लागि आवेदन दिदाँ आवेदन नै फिर्ता गरिदिएको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रनु परेको स्थानीय सुदिप कार्कीले बताए। 


बस्तिको बीच र पूर्वपश्चिम राजमार्गको किनारमै उद्योग छ । यही उद्योगको कारण खोलानाला, वायु प्रदुषण, खोती योग्य जमिनको उत्पादन क्षमतामा ह्रासदेखि उद्योगमा आउने मालबाहक ट्रक सडक किनारमा पार्किङ्ग गर्दा सडक दुर्घटना बढ्दै गएको स्थानीयहरु बताउँछन् ।


स्थानीयहरुले आफुहरुको माग पुरा नभए दैनिक उद्योग घेराउ गर्ने र उत्पादन समेत रोक्ने चेतावानी दिएका छन् । यसअघि उद्योगभित्र सञ्चालन गरिएको मेसिनबाट भूकम्पीय शक्ति उत्पन्न हुँदा उद्योग नजिकै रहेको काकाको पाटी प्यालेसमा क्षति पुगेको थियो ।

उद्यागले गर्नुपर्ने सामाजिक उत्तरदायित्वको काम प्रयाप्त नदेखिएकोले स्थानीय प्रशासनसंगको समन्वयमा छलफल गरि स्थानीयले उठाएको मागको सम्बन्धमा उद्योगसँग आवश्यक समन्वय गर्ने वडा अध्यक्ष  ढलक बहादुर थापाले बताए ।

यस बिषयमा जानकारी लिन खोज्दा उद्योगका प्रशासन तथा कर्मचारीहरुले कुनै प्रतिक्रिया नै दिन चाहेनन् ।

मुख्य समाचार समाचार समाज