देउवाजीको शरीर ओलीसँग भए पनि मन हामीतिरै छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा अहिले केपी ओलीसँग भए पनि मन आफूहरूसँग रहेको बताएका छन्।

पुष्पलालको जन्म शताब्दीका अवसरमा आयोजित प्रवचन गोष्ठी कार्यक्रममा बोल्दै नेपालले यस्तो बताएका हुन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमको अध्यक्षता गरेका नेपालले देउवालाई कार्यक्रममा बोलाए पनि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीको डरले नआएको टिप्पणी गरे।

‘कार्यक्रममा हामीले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि बोलाएका थियौं, यहाँ अहिले आयो भने केपी ओलीले फेरि नकारात्मक रुपमा लिन्छन् कि भनेर उहाँ अहिले आत्तिनुभएको होला।’ नेपालले भने, ‘त्यो मुटुको धड्कन अलिअलि बुझिहालिन्छ। केही फरक पर्नेवाला छैन। शेरबहादुरजी तपाईं आउन नपाए पनि तपाईंको भावना हामीसँग छ भन्ने ठान्या छौं। शरीर त्यहीँ छ मन यतापटि छ।’

संविधानमा बहस गर्ने बेला भए पनि गुपचुपमा संशोधन गर्न नहुने उनको भनाइ छ। उनले कांग्रेस एमालेको समीकरणको मूल विषय संविधान संशोधन नभइ अर्कै भएको दाबी पनि गरे।

‘आफ्नो–आफ्नो स्वार्थ पूरा गर्नका लागि अनेक किसिमका जामा पहिरिए पनि वास्तविकता समयक्रममा उजागर हुनेछ।’ नेपालले थपे।

मुख्य समाचार राजनीति समाचार