१० गुणा बढी किमो दिएपछि क्यान्सर बिरामीको मृत्यु, दुई नर्स निलम्बित

 

क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि अर्थात किमोको मात्रा बढी दिएर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि दुई नर्सलाई निलम्बन गरिएको छ ।

दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण माग गरी सचेत गराइएको छ । अस्पतालमा उपचारका निम्ति आएका बिरामीलाई दिनुपर्नेभन्दा १० गुणा बढी किमोको मात्रा दिइएपछि मृत्यु भएको थियो । ३.४ मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पताले जनाएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार, लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उपचार जारी थियो । उपचारका क्रममा आवश्यकभन्दा बढी किमो दिइएपछि गुरुङको मृत्यु भएको छ । मेडिकल वार्डमा तीनपटकसम्म सोही मात्राको किमो दिइएपछि बिरामीको शरीरले धान्न नसकेर गएको असार १३ गते राति मृत्यु भएको थियो ।

बिरामीको उपचारमा लापरबाही गरेको देखिएपछि अस्पताल प्रशासनले दुई चिकित्सकसहित २३ नर्ससँग स्पष्टीकरण मागेको थियो । अस्पतालले नर्स प्रभा तामाङ र आकृति श्रेष्ठलाई निलम्बन गरेको छ ।

यस प्रकरणलाई छानबिन गर्न अस्पतालले उपनिर्देशक डा. उमेश नेपाल, मेडिकल अंकोलोजी विभागका प्रमुख डा. गुरुशरण शाह र नर्सिङ प्रमुख अनिता देवकोटा सम्मिलित छानबिन समिति गठन गरेको थियो । समितिले यही साउन ३ गते प्रतिवेदन बुझाएपछि कारवाही गरिएको छ ।

मुख्य समाचार राजनीति समाचार समाज स्थानीय स्वास्थ्य