नेकपा एसको वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध

नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएका छन् । अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध भएका हुन् । यद्यपि निर्वाचन समितिले उम्मेदवारी दर्ताको अन्तिम नामावली सार्वजनिक गर्न बाँकी छ ।

नेकपा एकीकृत समाजवादीमा १८ जना पदाधिकारी छान्न आजदेखि चुनावी प्रक्रिया सुरु भएको हो । सर्वसम्मतिको प्रयास असफल भएपछि आजदेखि पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न चुनाव प्रक्रिया सुरु भएको हो ।

एकीकृत समाजवादीमा अध्यक्ष र महासचिव सर्वसम्मत भएको डेढ महिनापछि अरू पदाधिकारी छान्नका लागि चुनाव हुन लागेको हो । गएको असार २० गते महाधिवेशनको हलबाट अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका थिए । त्यस्तै सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत चयन भएका हुन् ।

एकीकृत समाजवादीले तीन सय ४३ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । २१ जना पदाधिकारीमध्ये सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्न बाँकी छ ।

मुख्य समाचार राजनीति समाचार