मुख्यमन्त्री लामालाई तरुण दल हेटौंडाको ध्यानाकर्षण पत्र

हेटौंडा अस्पतालको कर्मचारी पदपुर्तीका लागि लिइएको परीक्षामा सफल भएकाहरुलाई नियुक्त दिन माग गर्दै तरुण दल हेटौंडाले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामालाई ध्यानाकषर्ण पत्र बुझाएको छ ।

परीक्षा र अन्तवार्ता दुबैमा सफल भइसकेकाहरुलाई नियुक्ती दिन आनाकानी गरिएको भन्दै तरुण दल हेटौंडाले मंगलबार एक कार्यक्रमबीच मुख्यमन्त्री लामालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

अस्पतालको करारमा कार्यरत कर्मचारीको म्याद सकिएपछि पुनः करारमा भर्ना गर्ने गरी साउन १ गते १५ दिनको सूचना सार्वजनिक भएको थियो । साउन ३१ गते अन्तरवार्ता गरी परीक्षाफल समेत सार्वजनिक गरिएको थियो ।

परीक्षामा सफल भएकाहरुलाई नियुक्ती दिन ढिलाई गरेको चासो व्यक्त गर्दै तरुण दल नगर कार्यसमिति अध्यक्ष सुनिल गिरीको नेतृत्वमा तरुणको टोली मुख्यमन्त्री कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

सो क्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री लामाले उक्त अस्पतालको कर्मचारी पदपुर्तीका लागि लिइएको परीक्षामा सफल भएकाहरुलाई नियुक्त दिने प्रक्रिया छिट्टै टुंगिने बताए । उनले आफुले स्वास्थ्य मन्त्रीसँग यस विषयमा बसेर कुराकानी गर्ने भन्दै स्वास्थ्य क्षेत्रमा अनावश्यक राजनीति गर्न नहुने बताए ।

तरुण हेटौंडाले यसअघि हेटौंडा असपताललाई पनि ज्ञापनपत्र बुझाएको थियो । हेटौंडा अस्पतालले भने भदौ ५ गते सूचना प्रकाशन गर्दै हाललाई नियुक्ती प्रक्रिया स्थगित गरिएको जानकारी दिएको थियो ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयबाट कर्मचारी नियुक्तिको क्रममा भएको अन्तरवार्तामाथि छानबिनका लागि समिति गठन भएकोले नियुक्ती प्रक्रिया स्थगित गरिएको र स्वास्थ्य मन्त्रालयबाट नियुक्ती गर्नु भन्ने पत्र प्राप्त हुने बित्तिकै प्रक्रिया अघि बढ्ने जारी सूचनामा उल्लेख छ ।-tukhabar

मुख्य समाचार राजनीति समाचार