राजकुमार के.सी.
१७ भदौ/ फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरको आयोजना एवम् गण्डकी प्रदेश सरकारको समन्वयमा संघीय शासन प्रणालीको सबलीकरण बिषयक छलफल कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।
सोमबार सेन्टरका अध्यक्ष डा. खिमलाल देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले संघीयता सबलीकरणका लागि सबैभन्दा पहिले शिर्ष राजनैतिक नेतृत्वको मानसिकतामा परिवर्तन आउनुपर्ने बताए । मुख्यमन्त्री पाण्डेले आफ्नै पहलमा पोखरामा राष्ट्रिय समन्वय परिषदको बैठक राखेर प्रधानमन्त्रीलाई समस्या सुनाउँदा समेत कार्यान्वयन हुन नसकेको बताए । उनले संघीय सरकारले कार्य विस्तृतिकरणका नाममा प्रदेशले पाइसकेका अधिकार खोस्ने काम गरेको समेत बताए ।
गण्डकी प्रदेशकी प्रमुख सचिब लक्ष्मीकुमारी बस्नेतले प्रदेश निजामती ऐन नबन्दा समग्र प्रदेशको प्रशासनिक अवस्थामा समस्या भएको बताईन् ।
कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै संघीय संसदका पूर्व सांसद प्रकाश पन्थ र पार्वती रावलले संघीयता सबलीकरणमा तीनवटै तहको महत्त्वपूर्ण भूमिका रहने भएकोले आवश्यक सुझाब र सल्लाहको अपेक्षा सहित संघीय शासन प्रणालीको सबलीकरण बिषयक छलफल कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष डा. खिमलाल देवकोटाले गरेका थिए । देबकोटाले गर्दै सातै प्रदेश स्तरमा छलफल कार्यक्रम सम्पन्न गरि सोको प्रतिवेदन संघीय सरकार, प्रदेश सरकार र राजनैतिक दलका नेतृत्वलाई बुझाउने बताए ।
छलफलमा गण्डकी प्रदेश सरकारका मन्त्रीहरु, पूर्व सांसदहरु, राजनीतिक दलका नेताहरु, प्रदेश सरकारका मन्त्रालयका सचिवहरु, पालिका प्रमुख लगायतको सहभागिता रहेको फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरका कार्यक्रम निर्देशक प्रल्हाद लामिछानेले बताए ।