हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कस्थित रत्ना होटलमा गत भदौ १० गते मृत अवस्थामा भेटिएकी एलिसा न्यौपानेको हत्याको मुख्य आरोपी समिर खान भन्ने चाँद खाँ पैठानलाई प्रहरीले पक्राउ गरेको छ ।
पैठानलाई हेटौंडा–५, स्थित लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए ।
हेटौंडा–४ कमलडाँडा निवासी २२ वर्षीय समिरले हेटौंडा–११, सरस्वतीकी २३ वर्षीया एलिसालाई होटलको कोठामा हत्या गरी फरार भएको मकवानपुर प्रहरीको प्रारम्भिक अनुन्धानबाट खुल्न आएको छ ।
प्रहरीका अनुसार, भदौ ९ गते आइतबार अपराह्न ५ बजेतिर एलिसासँगै समिर होटेलको कोठा नम्बर २०५ मा बसेका थिए । उनीहरु बा ६४ प १३५ नम्बरको स्कुटर चढेर उक्त होटलमा पुगेका थिए । त्यसको भोलिपल्ट भदौ १० गते विहान एलिसा मृत अवस्थामा होटलको कोठमा भेटिएकी थिइन् ।
एलिसाको हत्यापछि समिर कोठाको झ्यालबाट राति ९ बजेतिर होटलबाट बाहिरिएका थिए । उनले एलिसामाथि दुईवटा वियरको बोत्तलसहित धारिलो हतियारले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान अवेरसम्म कोठाको ढोका नखुलेपछि होटल साहुले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए । कोठा फोडेर हेर्दा एलिसाको शरिर रगतले लतपत्तिएको अवस्थामा एलिसाको शव फेला परेको थियो ।
प्रहरी अनुसन्धानका क्रममा समिर र एलिसा लामो समयदेखि प्रेम सम्बन्धमा रहेको पाइएको प्रहरी निरीक्षक भण्डारीले बताए ।
उक्त घटनापछि समिरलाई भगाउन र लुकाउन सहयोग गरेको आरोपमा निजकी आमा ५५ वर्षीया सैरुन खान, निजकी श्रीमती २६ वर्षीया रविना खातुन, ससुरा वीरगंज महानगरपालिका वडा नम्बर ३० का ५६ वर्षीय लालबाबु खाँ पैठान, उनका छोरा ३० वर्षीय फैयाज अहमदलाई यसअघि नै पक्राउ गरिसकेको प्रहरी निरीक्षक भण्डारीले बताए ।
पक्राउ परेका चारै जनालाई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरी निरीक्षक भण्डारीले बताए ।-TUKHABAR
यो पनि पढ्नुहोस् :-