रेडियो मकवानपुरले तीज विशेष कार्यक्रम गर्दै

हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले भोलि भदौं १९ गते बुधबार जागरुक महिला सम्मान तथा तीज विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

रेडियोले गत वर्षहरुमा झैं हरितालिका तीजको अवसरमा यस वर्ष पनि तीज विशेष कार्यक्रम गर्न लागेको हो । रेडियोले स्थापनाकालदेखि नै तीजको सन्दर्भमा मकवानपुरका २ अग्रज महिलालाई सामुदायिक सम्मान प्रदान गर्दै आएको छ । यस बर्षपनि मकवानपुरमा रहेर समाजमा योगदान पु¥याएका दुईजना महिलालाई जनही नगद १० हजार रुपैयाँसहित सम्मान गरिने रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आन्दराम पराजुलीले जानकारी दिए ।

‘यही १९ गते बुधबार बिहान ११ बजेबाट हेटौंडाको रोयल पार्टी प्यालेसमा तीज विशेष तथा सम्मान कार्यक्रमको आयोजना हुनेछ’, अध्यक्ष पराजुलीले भने, ‘केदारनाथ सुनचाँदी पसलको मुख्य प्रायोजनमा हुने सम्मान तथा तीज विशेष सांस्कृतिक कार्यक्रममा मकवानपुरका विभिन्न संघसंस्थाको सहकार्य रहनेछ ।’

रेडियो मकवानपुरको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका संरक्षक एवम् नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा मकवानपुरका राजनीतिक दलका प्रमुख प्रतिनिधि, जनप्रतिनिधि सहित सहयोगी संस्थाका प्रमुख प्रतिनिधिहरुको आतिथ्यता रहनेछ ।

कार्यक्रममा सहभागीताका लागि रेडियोले सार्वजनिक रुपमा आव्हान गरेको छ । ‘हामीले स्थापनाकालदेखि नै तीजमा दुई अगुवा महिलालाई जागरुक महिला सम्मान र बार्षिकोत्सवमा दुईजनालाई सामुदायिक सम्मान प्रदान गर्दै आएका छौं’, रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले भने, ‘सामुदायिक रेडियो हुनुको नाताले समाजमा राम्रा काम गरिहेकाहरुलाई सम्मान गर्नु र वहाँहरुको उजागर एवम् हौसला बढाउनु हाम्रो दायित्व हो । मकवानपुरबासीकै लागि आयोजित कार्यक्रम भएकोले सहभागिताको निम्ति म सबैलाई अनुरोध गर्न चाहन्छु ।’

कार्यक्रममा गायिका सुनिता शर्मा लुईंटेलसहित स्थानीय कलाकारहरुको प्रत्यक्ष दोहोरी गायन समेत रहनेछ । कार्यक्रममा उत्कृष्ट नृत्य प्रस्तुत गर्नेमध्ये १० जनालाई पुरस्कार समेत प्रदान गरिनेछ ।

जागरुक महिला सम्मानको लागि रेडियो मकवानपुर सञ्चालक समितिले छनौट समिति समेत बनाएको छ । रेडियो मकवानपुरले यसअघि २६ जनालाई जागरुक महिला सम्मान र २६ जनालाई सामुदायिक सम्मान प्रदान गरिसकेको छ ।-tukhabar

मुख्य समाचार राजनीति समाचार समाज