१११ औं विपी जन्म जयन्ती मनाइँदै

नेपाली राजनीतिका शीर्ष व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्म जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण ठानिएको छ ।
वि.सं. १९७१ भदौ २४ गते जन्मेका कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका साथै नेपाली साहित्य जगतमा पनि विशिष्ट व्यक्तित्वका रुपमा स्थापित भए । २०१५ सालको आम निर्वाचन पश्चात् १८ महिना नेपालका प्रधानमन्त्री बनेका कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समय नेतृत्व गरेका थिए ।

भारतमा रहँदा तत्कालीन समयमा चलेको स्वतन्त्रता आन्दोलनबाट प्रभावित स्वर्गीय कोइरालाले सो आन्दोलनमा सक्रिय रहनुका साथै नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेकोमा त्यो पछि गएर नेपाली कांग्रेस पार्टीमा रुपान्तरित भएको थियो ।
२००३ सालमा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेका कोइरालको नेतृत्वमा २००७ सालको क्रान्तिले सफलता प्राप्त गरेको थियो । २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम पश्चात् कुनै मुद्दा बिना नै आठ वर्ष कैदमा राखिएका कोइरालाले तत्पश्चात् लामो समयसम्म निर्वासनमा बसेर २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीतिका साथ स्वदेश फर्किएका थिए ।

साहित्यकार कोइरालाका तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाइ, मोदिआइन, हिटलर र यहुदी र बाबु, आमा र छोरा उपन्यास प्रकाशित छन् । कोइरालाका दोषी चश्मा, श्वेतभैरवी कथा सङ्ग्रहका साथै आफ्नो कथा र जेल जर्नल आत्मबृतान्त एवं जीवनी सङ्ग्रह प्रकाशित छन् ।

नेपाली भाषा साहित्यमा यौन मनोविज्ञानलाई भित्रयाएका कोइरालालाई मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गर्ने साहित्यिक व्यक्तिको श्रेय पनि जान्छ । कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

मुख्य समाचार राजनीति समाचार