मकवानपुरका किसानलाई धान काट्ने चटारो

हिन्दुहरूको महान् पर्व दसैँ सकिएलगत्तै मकवानपुरका अधिकांश किसान धान काट्ने काममा व्यस्त भएका छन् । कृषि ज्ञान केन्द्र मकवानपुरका अनुसार अहिले जिल्लाका विभिन्न स्थानका अधिकांश किसान बिहानदेखि बेलुकासम्म धान काट्न जुटेका छन् ।

कतिपय किसानले दसैँअघि नै काट्ने बेला भएको धान समेत नकाटी दसैँ पर्वमा रमाएका थिए, अहिले उनीहरूलाई काट्न भ्याइनभ्याई छ । दसैँमा रमाएका किसानहरू अहिले धान काट्न खेतबारीमा जुटेका छन ।

धेरै किसानलाई अहिले कतै पानी परेर वर्ष दिनभरि खाने बाली बिगार्ने डरले चिन्ता लागे पनि मौसमविद्हरूले अबका केही दिन पानी पर्ने सम्भावना नरहेको जनाएकाले ढुक्कसँग धान काट्न किसानलाई सुझाव दिइएको छ । विशेषगरी किसानहरूले लगाएको वर्णसंकर जातका धानहरू स्थानीय प्रजातिको धानभन्दा अलि छिटो पाक्ने भएकोले पर्वसँगै उनीहरू धान बाली भित्र्याउन जुटेका हुन् ।

त्यसो त अहिले समयमा नै धान बाली थन्क्याउन पाएको खण्डमा आलु र गहुँजस्ता बाली लगाउन पनि निकै सहज हुने भनाइ किसानहरूको छ ।

गाउँ घरमा भने अहिले सबै जना पर्व मनाउनका लागि आएकाले काम गर्न पनि सहज हुने भनाइ किसानहरूको छ । जसले गर्दा बाली थन्क्याउन सहयोग समेत पुग्ने गरेको छ ।

 

मुख्य समाचार समाचार समाज स्थानीय