वर्षाजन्य विपद्ले झण्डै सात सय मेगावाट विद्युत अवरुद्ध भए पनि लक्ष्मीपूजामा विद्युत अभाव नहुने

नेपाल विद्युत प्राधिकरणले झिलिमिली बत्तीले उज्यालो पारिने लक्ष्मीपूजाका दिन विद्युत अभाव नहुने बताएको छ ।

चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अवरुद्ध रहेकोले लक्ष्मी पूजामा विद्युत अभाव हुन सक्ने आशंकाका बीच प्राधिकरणले पर्याप्त बिजुली रहेकोले ढुक्क भएर झिलिमिली बनाउन भनेको हो ।

लक्ष्मीपूजाका बेलामा घरेलु प्रयोग बढेपछि उद्योग, कार्यालयहरु बन्द रहने भएकोले बिजुलीको ठूलो भार नपर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमाने घिसिङले बताउनुभयो । लक्ष्मीपूजाका दिन नेपालको सबै माग धानेर पनि दुई सय ८० मेगावाट भन्दा धेरै बिजुली भारतमा निर्यात हुन सक्ने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताउनुभयो ।

गएको वर्षको लक्ष्मीपूजाका दिन नेपालले पाँच सय १७ मेगावाट बिजुली निर्यात गरेको थियो । गएको वर्षको लक्ष्मीपूजामा नेपालमा एक हजार चार सय ४६ मेगावाटसम्म बिजुली खपत भएको थियो ।

यस वर्ष असोजको दास्रो हप्ताको वर्षाजन्य विपद्का कारण चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी र केही प्रशारण लाइनमा क्षति पुग्दा अहिले झण्डै सात सय मेगावाट विद्युत अवरुद्ध छ । तर अहिले पनि झण्डै दुई हजा मेगावाट विद्युत प्रशारण लाइनमा कायम रहेको प्राधिकरणले जनाएको छ ।

यसबेला धेरै बिद्युत खपत हुने बेलामा १७ सय मेगावाटसम्म पुग्छ । तर तिहारमा धेरैतिर झिलिमिली देखिए पनि उद्योग, कार्यालय लगायत बन्द हुने भएकोले धेरै माग हुने दिनको रुपमा नपर्ने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताउनुभयो ।

मुख्य समाचार समाचार समाज