जेसीज कप फुटबल : उपाधिकालागि थाहा नगरपालिका र आयोजक भिड्ने


मकवानपुर- पालुङ जेसीजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तरगतको छैठौं दिन शुक्रवार जेसीज कप मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगितामा आयोजक पालुङ जेसीज, थाहा नगरपालिका, नेपाल लेखापढी ब्यवशायी संघ, बैंक तथा बित्तीय संस्थाका कर्मचारी गरि ४ टिमको सहभागिता रहेको छ । शुक्रवार भएको २ खेलबाट प्रतियोगिताको फाईनलमा पुग्ने २ टिम छनोट भएका छन् ।

थाहा नगरको इन्द्रायणी चौरमा भएको प्रतियोगितामा आयोजक पालुङ जेसीजले बैंक तथा बित्तीय संस्थाका कर्मचारी यिमलाई २-१ गोल अन्तरले पराजित गरि आयोजक पालुङ जेसीज फाईनल प्रवेश गरेको हो ।


त्यस्तै थाहा नगरपालिका कर्मचारी टिमले नेपाल लेखापढी ब्यवशायी टिमलाई २-० गोल अन्तरले पराजित गरि थाहा नगरले फाइनल यात्रा तय गरेको हो ।

प्रतियोगिताको उपाधिका लागि शनिबार बिहान ९ बजे आयोजक पालुङ जेसीज र थाहा नगरपालिका बिच फाईनल खेल हुने पालुङ जेसीज बर्ष २०२४ का महासचिव बिक्रम गोपालीले बताए ।

पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको प्रयियोगिता उद्घाटन कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर १२ का अध्यक्ष एवम् थाहा नगरपालिका खेलकुद विकास समितिका संयोजक टीकाराम स्याङ्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधान, मनोज रायमाझी, निवर्तमान अध्यक्ष संगम कार्की, कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूल कार्यक्रम संयोजक मानसिंदोङ, उपाध्यक्ष एवम् सप्ताह सह–मूल कार्यक्रम संयोजक नारायण कार्की, फुटबल प्रतियोगिता कार्यक्रम संयोजक श्रीकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै शनिबार अन्जय प्रधानको संयोजकत्वमा दिउँसो २ बजेदेखि जेसीज सभाहलमा सम्मान र जेसीज सप्ताह समापन कार्यक्रम हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा थाहानगरमा कृषि, खेलकुद, पर्यटन, शिक्षा,स्वास्थ्य, खेलकुद लगायतका बिधामा उत्कृष्ट कार्य गर्ने १० जना ब्याक्तित्वलाई सम्मान गर्नुका साथै जेसीज सप्ताह अन्तरगत भएका कार्यक्रममा उत्कृष्ट हुनेलाई पुरस्कार, प्रशंसापत्र वितरण गर्ने कार्यक्रम समेत रहेको पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले बताए ।

खेलकुद