पत्रकार महासङ्घ रौतहट शाखाको अध्यक्षमा कार्की निर्वाचित

नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको नेतृत्वका लागि शुक्रबार सम्पन्न निर्वाचनबाट सञ्जय कुमार कार्की अध्यक्षमा निर्वाचित भएका छन्। नेपाल प्रेस युनियनका तर्फबाट उम्मेदवार बनेका कार्कीले कुल १५ मत प्राप्त गर्दै निकटतम् प्रतिस्पर्धीहरू उत्तमकुमार उपाध्याय र रविन्द्र प्रसाद साहलाई तीन मतले पराजित गरेका हुन्।

 

 

प्रेस चौतारी नेपालका उम्मेदवार उपाध्याय र प्रेस मञ्चका साह दुवैले समान १२ -१२ मत प्राप्त गरेका थिए। समाजवादीका मदन ठाकुर धनञ्जय भने ६ मतका साथ अन्तिम स्थानमा रहन पुगे।

अन्य पदमा पनि कडा प्रतिस्पर्धा देखिएको थियो। उपाध्यक्ष पदमा प्रेस सेन्टरका डिल्ली बहादुर कार्कीले १८ मत प्राप्त गर्दै विजय हासिल गरे भने उनका प्रतिद्वन्द्वी राम एकवाल साहले १५ र पुष्पराज यादवले ११ मत ल्याएका थिए।

सचिव पदमा प्रेस चौतारीका गौतम श्रेष्ठले २६ मत प्राप्त गर्दै जित हासिल गरेका छन्। सह-सचिव पदमा खुलातर्फ जितेन्द्र श्रीवास्तवले २४ मत र समावेशीतर्फ दिनेश यादवले २६ मत ल्याएर विजयी भएका छन्। कोषाध्यक्षमा सञ्जय कुमार सहनी २४ मतका साथ निर्वाचित बनेका हुन्। यसअघि, केही पदहरूमा निर्विरोध निर्वाचन सम्पन्न भएको थियो।

महिला उपाध्यक्षमा बिना श्रीवास्तव, महिला खुला तर्फ रश्मी पटेल, पुरुष खुलातर्फ उमेश यादव, र आदिवासी जनजातितर्फ प्रकाश श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए। शुक्रबार भएको निर्वाचनमा ४५ जना मतदातामध्ये सबैले मतदान गरेका थिए।

 

मुख्य समाचार राजनीति समाचार समाज