भानुको ४८ औं वार्षिकोत्सब सम्पन्न, यस वर्षबाट होस्टेल समेत संचालन

११ पौष,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिकाको वडा नं ३ मक्रान्चुलीमा रहेको भानु माविले विद्यालय स्थापनाको ४८ औं वार्षिकोत्सब मनाइएको छ ।

बिहीवार मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यतामा वार्षिकोत्सब मनाईएको हो । कार्यक्रममा प्रमुख अतिथि स्याङ्तानले गाउँपालिका भरि रहेका विद्यालयहरुलाई यस विद्यालयले शैक्षिक क्षेत्रमा नेतृत्व गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो । आगामी दिनमा नयाँ कार्ययोजना सहित अघि बढ्नु पर्नेमा जोड दिदैं त्यस कार्यमा आफ्नो ब्यक्तिगत तथा पालिकाको तर्फबाट सक्दो सहयोग रहने बताउनुभयो ।



कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष बिदुर हुमागाईले विद्यालयलाई प्रदेशको नमुना विद्यालय बनाउन धेरै नै दुख गर्नुपरेको बताउनुभयो । विद्यालयलाई नमुना घोषणा गरेर मात्र नपुग्ने भन्दै यस विद्यालयबाट अरुले पाठ सिक्नुपर्ने गरि विद्यालय अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रीन (नेपाली), वडा नं ३ का वडा अध्यक्ष भागवत घिमिरे , वडा नं ४ का वडा अध्यक्ष अर्जुन तिमल्सिना, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजन लामिछाने , जनप्रतिनिधि , विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, विद्यालयका पुर्व अध्यक्षहरु, पुर्व प्रधानाध्यापकहरु ,समाजसेवी लगायतकाको आतिथ्यता रहेकोे थियो ।

कार्यक्रममा विभिन्न समयमा विद्यालयलाई सहयोग गर्नुभएका ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । त्यस्तै विद्यालयमा विभिन्न बिधामा उत्कृष्ट विद्यार्थी , शिक्षक लगायत विभिन्न खेलमा सहभागी हुने अभिभावकहरुलाई समेत सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

यस वर्षबाट होस्टेल संचालनमा

शैक्षिक गुणस्तर वृद्धि गर्ने उदेश्यले विद्यालयले यस वर्षबाट होस्टेल समेत संचालन गरेको छ । विशेषगरी कक्षा १० का विद्यार्थी तथा कक्षा ८ र ९ का इच्छुक विद्यार्थीहरु गरी करिब ७० जना विद्यार्थीहरु विद्यालयले संचालन गरेको होस्टलमा बसेका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खिल प्रसाद चौलागाईंले बताउनुभयो ।

विद्यार्थीहरुलाई विद्यालयमा आवतजावत गर्न कठिनाइ हुने विद्यालयबाट अलि टाढा भएका विद्यार्थीहरुलाई सहज हुनेगरि विद्यालयले २ वटा बस समेत संचालन गरिरहेको छ ।

मुख्य समाचार शिक्षा स्थानीय