कालिदेवी दुग्ध उत्पादक सहकारी संस्थाको २९ औं साधारणसभा सम्पन्न

२७ पौष,हेटौंडा – मकवानपुरगढी गाउँपालिका वडा नम्वर–४ मा रहेको कालिदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २९ आँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । वनभोज सहित आयोजना गरिएको कार्यक्रम संस्थाका अध्यक्ष विक्रम योञ्जनको अध्यक्षता तथा बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पुलामीले पछिल्ला समयमा देशका केहि ठुला सहकारीहरुमा आर्थिक अपचलनका समस्या देखिएको खबरहरु आईरहेको भन्दै त्यस तर्फ सचेत हुनुपर्ने बताउनुभयो । किसानले बेचेको दुधको भुक्तानी समयमा नआउँदा किसानलाई समस्या परिरहेको भन्दै समयमा दुधको भुक्तानी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

भेलामा विशिस्ट अतिथिका रुपमा रहनुभएका मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले कृषकहरुको हितका लागि मकवानपुरगढी गाउँपालिकाले कृषक हितकोषको स्थापना गर्न लागेको बताउनु भएको छ । उक्त कोषमा दुध बिक्री गर्ने किसान ,सम्बन्धित सहकारी संस्था र गाउँपालिकाको बराबर लागत सहभागिता रहने उहाँले बताउनुभयो ।

कार्यक्रममा सहकारीका व्यवस्थापक चन्द्रकान्त पुडासैनी तथा सहायक ब्यवस्थापक कविना थिङलाई सम्मान गरिएको थियो । त्यस्तै संस्थामा दुध बिक्री गर्ने किसानहरुलाई विभिन्न बिधामा पुरस्कृत तथा सम्मान गरिएको थियो भने सोहि कार्यक्रममा पत्रकार बलराम पुडासैनीलाई समेत सम्मान गरिएको थियो ।

भेलाले अध्यक्ष विक्रम योन्जनले प्रस्तुत गर्नुभएको आगामी योजना सहितको संस्थागत प्रतिवेदन र लेखा समितिका संयोजक देवनारायण लामिछानेले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।

कार्यक्रममा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कडेल, मकवानपुरगढी ४ का वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना, ३ नम्वर वडा अध्यक्ष भागवत घिमिरे, सहकारीका निवर्तमान अध्यक्ष अर्जुनप्रसाद सापकोटा लगायत पूर्व अध्यक्षहरु र विभिन्न सहकारीका सम्बद्ध व्यक्तिहरु साथै विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सहजीकरण संस्थाका लेखापाल कृष्ण प्रसाद बन्जराले गर्नुभएको थियो ।

मुख्य समाचार समाचार सहकारी