गोविन्द शर्मा तिमल्सिना
१० माघ,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं ३, बाबियोडाँडा निवासी प्रेम प्रसाद तिमल्सिना (कुबेर) ले केराको बोटबाट कागज उत्पादन गरेका छन् । केराको फल काटेपछि तेसै फालिने केराको बोट्बाट तिमल्सिनाले कागज उत्पादन शुरु गरेका हुन् ।
साउदी अरबमा ८ वर्ष बिताएका तिमल्सिनाले बिदेशमा सोचेजस्तो प्रगति हुने नदेखे पछि आफ्नै देश फर्किएका थिए । ड्राइभर सिप भएका उनले त्यसपछि काठमाडौमा ५ वर्ष ट्याक्सी ड्राइभर भएर काम गरे । एक श्रीमती र एक छोरा समेत भएका उनी ड्राइभर पेशाले काठमाडौमा खाने बस्ने भन्दा खासै प्रगति हुने नदेखेपछि आफ्नै घर फर्किए ।
आफ्नै घर फर्किए पछि उनले केहि वर्ष घरमा बाआमाले पालेका बाख्रा तथा पशुपालनमा सहयोग गरे ।
उनको खास नाम प्रेम प्रसाद भएपनि उनलाई गाउँघर तथा आफन्तहरुले कुवेर भनेर नै चिन्ने गरेका छन् ।
मक्रान्चुलीमा केराको उत्पादन राम्रै हुने गरेको र केराको फल (घरी) काटेपछि बाँकी रहेको बोट तेसै फाल्नु परेको देखि उनलाई यसबाट केहि बनाउन सकिन्छ की भन्ने सोच जाग्यो र उनले त्यसको खोजी गर्न थाले । खोजी गर्ने क्रममा कुवेरले युट्युबमा केराको बोटबाट कागज बनाउन सकिने भिडियो देखे र त्यसपछि सोहि काम गर्ने योजना बनाएको उनी बताउँछन् ।
खोजि गर्ने क्रममा उनीले चितवनमा रहेको एशियन कागज उद्योगमा पुगी यस विषयमा थप जानकारी लिएको बताए । काठमाडौं बाट केराको फाइबर (धागो) निकाल्ने मेसिन रु.१ लाख पचास हजारमा खरिद गरी र चितवनबाट रु ३० हजारमा लेदो (प्लम्प) बनाउने मेशिन ल्याई उनले फाइबर निकाल्न शुरु गरे । दुई वटा केराको बोटबाट करिब एक केजी फाइबर उत्पादन हुने उनी बताउँछन् ।
सर्वप्रथम फाइबर ९० प्रतिशत र बाबियो १० प्रतिशत मिसाएर ६ देखि ८ घण्टा पानीमा पकाइन्छ । त्यसपछि सफा पानीले ३-४ पटक धोएपछि मेशिनमा राखेर पेली लेदो (प्लम्प) बनाइन्छ । अनि सो प्लम्प फ्रेममा बनाइएको जालिमा राखेर केहि समय पानी ट्याङ्कीमा डुबाउनुपर्ने र त्यहाँबाट निकालि घाममा सुकाएर कागज उत्पादन गरिने कुबेर बताउँछन् । पकाउनका लागि छिटो होस भनेर कास्टिङ सोडाको प्रयोग गर्न सकिने र सेतो बनाउनका लागि ह्वाइट पाउडर मिसाउनु पर्ने उनी बताउँछन् ।
त्यसरी तयार भएको एक केजी प्लम्पबाट ६ ग्रामका २०/३० इन्चका ५० थान कागज उत्पादन हुने उनको भनाइ छ । यसरी तयार भएको २०/३० इन्चको एक थान कागज ६ रुपैयाँमा बिक्री हुने गरेको छ । ६ देखि ६० ग्रामसम्मको कागज उत्पादन गर्न सकिने उनी बताउँछन् । उत्पादित कागजबाट लेख्नका लागि प्रयोग गरिने र धुप बनाउन प्रयोग हुने उनको भनाई छ ।
प्लम्प (लेदो) बनाउने र फाइबर बनाउने गरी कुबेर्सँग हाल २ वटा मेशिन रहेको छ । मेशिन उपकरणहरु राख्ने घर,कागज सुकाउने जाली, पकाउने- धुने भाँडा लगायतका सामानमा हालसम्म ७ देखि ८ लाख खर्च भएको उनी बताउँछन् । ‘तिमल्सिना हाते कागज उद्योग’ मकवानपुरगढी-३ को नाममा उनले घरेलु तथा साना उद्योग कार्यालय हेटौंडामा ब्यवसाय दर्ता गराएका छन् ।
हाल सम्म करिब ५० हजार जतिको कागज बिक्री गरि सकेको र त्यति नै मात्रामा बिक्रीका लागि कागज तयार भएको पनि उनी बताउँछन् । उत्पादनको शुरुको अवस्थामा भएपनि गुणस्तरीय नेपाली कागज उत्पादन भएका कारण बिक्रीका लागि कुनै समस्या नभएको र खरिद गर्न विभिन्न कार्यालयहरुबाट लेख्ने कागजका लागि अर्डर आउन थालेको उनको भनाइ रहेको छ ।
छोराले शुरु गरेको ब्यवसाय शुरु गर्ने बेलामा खासै विश्वास नगरेको भएपनि अब भने छोराको उद्योग ब्यवसायले सफलता पाउने विश्वास लागेको आमा दुर्गा तिमल्सिना बताउनुहुन्छ । हाल घरका परिवार त्यसैमा ब्यस्त छन् भने कच्चा सामाग्रीको पनी उपलब्धतामा कमि नभएको र उत्पादित सामानको बजार पनि राम्रो हुने सोचाइ राखि ब्यवसायलाई थप बिस्तार गर्न जनशक्ति थप गर्ने योजना रहेको कुबेर बताउँछन् ।
कुबेरले शुरु गरेको नयाँ ब्यवसायले गाउँमै बसेर स्थानीय सामाग्रीहरुलाई प्रयोग गरी स्वरोजगार हुनुका साथै केहि गर्न सकिन्छ भन्ने आशा पलाएको स्थानीयको भनाइ रहेको छ ।