फागुन १ गते हेटौंडालाई बालमैत्री घोषणा गरिने

हेटौंडा । हेटौंडा उपमहानगरपालिकालाई आगामी फागुन १ गते बालमैत्री घोषणा गरिने भएको छ। मंगलवार उपमहानगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडाकी प्रमुख मीनाकुमारी लामाले आगामी फागुन १ गते हेटौंडालाई बालमैत्री घोषणा लागिएको जानकारी दिएकी हुन्।

“बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका विभिन्न सूचक पूरा गरेसँगै स्थापना दिवसको अवसर पारेर हेटौंडा उपमहानगरपालिकालाई निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्न लागेको जानकारी दिइन्। पत्रकार सम्मेलनमा हेटौंडालाई नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा बालमैत्री घोषणा गरिने जनाइएको हो।

नगर प्रमुख लामाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री घोषणा कार्यान्वयन कार्यविधि २०७९ ले हेटौंडाको १९ वटै वडा बालमैत्री घोषित भइसकेकोले फागुन १ गते   बालमैत्री घोषणा गर्न लागेको जनाएकी थिइन्।

बालमैत्री घोषणा गर्न आवश्यक बालमैत्री स्थानीय शासनका ५१ सूचकहरुमा हेटौंडा उपमहानगरपालिकाले ४३ वटा सूचकमा सय प्रतिशत, एउटा सूचनकमा ९९ दशमलव ९४ प्रतिशत, एउटा सूचकमा ९९ दशमलव ८९ प्रतिशत, एउटा सूचकमा ९९ दशमलव ८७ प्रतिशत, एउटा सूचकमा ९९ प्रतिशत, एउटा सूचकमा ९८ दशमलव ६३ प्रतिशत, एउटा सूचकमा ९६ दशमलव ८४ प्रतिशत, एउटा सूचकमा ९१ प्रतिशत र एउटा सूचक ८८ दशमलव ०६ प्रतिशत नजिता हाँसिल भएको उनले जानकारी दिइन् । फागुन १ गते उपमहानगरपालिकाले स्थापना दिवसको अवसर पारेर उक्त घोषणा कार्यक्रम गर्न लागिएको हो। उक्त घोषणाका लागि उपमहानगरपालिकाले मंगलबार एक सुचना प्रकाशित गर्दै बाल क्लब, टोल विकास संस्था, सामुदायिक र संस्थागत विद्यालय, वडा कार्यालय, स्थानीय क्लब, जनप्रतिनिधि र नगरवासिलाई घोषणा कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । हेटौंडाको बुद्धचोकबाट बाजागाजा र र्याली सहित हेटौंडा ५ क्याम्पाचौरमा हेटौंडालाई बालमैत्री स्थानीय तह घोषणा गरिने छ।

 

FB_IMG_1739264625517-1739283055.jpg
समाचार