नेपाललाई चाहिने आधा औषधि विदेशबाट आयात

काठमाण्डौ – नेपाललाई आवश्यक पर्नेमध्ये करिब आधा औषधिहरु आयात हुने गरेको औषधि व्यवस्था विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी एवम् वरिष्ठ औषधि व्यवस्थापक प्रमोद केसीले नेपाललाई आवश्यक पर्नेमध्ये ५० प्रतिशत औषधि भारत तथा तेस्रो देशबाट आयात हुने गरेको बताउनुभयो ।

सामान्य भिटामिनहरु, ईन्जेक्सन, एन्टीडाईबेटिक, नार्कोटिक, साईक्रोटिकजस्ता औषधि नेपालमा उत्पादन हुने गरेको केसीले उज्यालोलाई जानकारी दिनुभयो । दम, क्यान्सरजस्ता दीर्घ तथा गम्भीर रोगका लागि आवश्यक पर्ने औषधिहरु भने विदेशबाट आयात गर्ने गरिएको छ ।

नेपालमा करिब ८ हजार किसिमका औषधि उत्पादन भइरहेका छन् । करिब ९ हजार किसिमका औषधिहरु आयात भइरहेको औषधि व्यवस्था विभागको तथ्याङ्क छ । कच्चा पदार्थ, प्रविधि र उपकरण बाहिरबाट ल्याउनु पर्ने कारण औषधि उत्पादनमा समस्या हुने गरेको विभागको बुझाइ छ ।

नेपालमा उत्पादन हुने औषधिका लागि ८० प्रतिशत कच्चा पदार्थ भारत र २० प्रतिशत चीनबाट आयात हुने गरेको छ । उत्पादक कम्पनीहरुले एउटै प्रकारका औषधि उत्पादनमा जोड दिँदा आयात बढेको अनुमान छ ।

मुख्य समाचार समाचार