चुच्चेखोला वनमा डढेलो रोकथाम सम्बन्धि जनचेतना

हेटौंडा- चुच्चेखोला सामुदायिक बन उपभोक्ता समितिले बिहिवार वनमा लाग्ने डढेलो रोकथाम गर्न जनचेतना मूलक कार्यक्रम आयोजना गरेको छ ।

डिभिजन वन कार्यालय मकवानपुरले वनमा डढेलोबाट हुने क्षति र रोकथामका लागि हेटौंडा उपमहानगरपालिका–१७ र मकवानपुरगढी गाउँपालिका–२ स्थित समितिको वन क्षेत्रमा कार्यक्रम गरिएको थियो ।

डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजन वन अधिकृत राकेश प्रसाद चन्द्रवंशीको उपस्थितिमा आयोजित जनचेतना कार्यक्रममा वन डढेलो लाग्न सक्ने जोखिमलाई न्यूनिकरण गर्न सडक क्षेत्रको पत्कर संकलन गरेर नष्ट गरिएको थियो । चन्द्रवंशीले वन डढेलोका कारण वातावरण प्रदूषण साथै वनमा आश्रित जीवहरुको क्षति बढ्दै गएको उल्लेख गर्दै कुनै पनि हालतमा वनमा आगो लाग्नबाट जोगाउनु पर्ने बताउनु भयो । साथै उहाँले वन डढेलो रोक्नका लागि कुनै कसर बाँकी नराखेको जानकारी पनि दिनु भएको छ ।

कार्यक्रमका दौरान, चुरोट र विडीका ठुटा जथाभावी फाल्दा डढेलो लाग्न सक्ने भएकाले सडक क्षेत्रको पत्कर संकलन गरेर नष्ट गरिएको चुच्चेखोला सामुदायिक बनका अध्यक्ष लक्ष्मण कटुवालले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी करिब ५० घरका उपभोक्ता, डिभिजन वनका प्राविधिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतकको टोलीले सडक वरपारको पत्करलाई संकलन गरी जलाएर नष्ट गरिएको थियो ।

यसपटक वनमा डढेलो नलागोस् भन्ने उद्देश्यले छिमेकी वनहरुसँग सहकार्य गरेर संयुक्त प्रयास गरिएको उपाध्यक्ष उमेश अधिकारीले बताउनु भयो । वनमा आगो लागेको खण्डमा नियन्त्रणका लागि जनशक्ति तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभएको छ ।

शिक्षा समाचार समाज स्थानीय