नयाँ तेलहन बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत कुर्ले कृषि सहकारीद्वारा किसानलाई कृषि यान्त्रिकरण सहयोग

२१ चैत,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं २ मा रहेकोे कुर्ले कृषि सहकारी संस्थाले आफ्ना सदस्य किसानहरुलाई कृषि यान्त्रिकरण हस्तान्तरण गरेको छ । नयाँ तेलहन बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा यान्त्रिकरण हस्तान्तरण गरिएको हो ।

मकवानपुरगढी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार संघीय सशर्त कृषि विकास कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रममा नयाँ तेलहन बाली पकेट विकास कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण गरिएको हो ।

बिहिवार वडा नं २ मा रहेको संस्थाको कार्यालय कुर्लेमा भएको कृषि यान्त्रिकरण वितरण कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष बखान सिं पाख्रीनको प्रमुख आतिथ्यता रहेको थियो भने कुर्ले कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद हुमागाईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा संस्थामा आवद्ध रहेका ५ जना किसानहरूलाई पानी तान्ने पम्प वितरण गरिएको थियो । कार्यक्रम नमूना तेलहन बाली पकेट समन्वय समिति मकवानपुरगढीको आयोजनामा भएको हो ।

प्रविधि हस्तान्तरण कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख गोपाल प्रसाद लम्साल, नमूना तेलहन बाली पकेट समन्वय समिति मकवानपुरगढीका संयोजक गोविन्द प्रसाद तिमल्सिना, माहाकाली दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष राम प्रसाद पुडासैनी लगायतकाको उपस्थिति रहेको थियो ।

त्यसैगरी संस्थाले सोहि कार्यक्रम अन्तरगत कुर्ले फाँटमा कुलो निर्माण तथा मर्मत समेत गरेको कुर्ले कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद हुमागाईले बताउनुभयो ।

कृषि समाचार विज्ञान प्रविधि समाचार सहकारी स्थानीय