मकवानपुरगढी-४ कालिखोलामा चितुवासँग लुङ्वाको जम्काभेट, भन्छन् ‘धन्नले बाचियो’

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ मक्रान्चुली निवासी विशाल लुङ्वाको बिहिवार चितुवासँग जम्काभेट भएको छ ।

हेटौंडा बजारबाट घर फर्किदै गरेका विशालले चलाईरहेको मोटरसाइकलसँग वडा नं ४ को कालिखोलामा साँझ करिब ७ बजेको समयमा चितुवा ठोक्किन आइपुगेको बताएका छन् । साथै उनले आफु भने सुरक्षित नै रहेको बताएका छन् । लुङ्वाले सामाजिक संजाल फेसबुक मार्फत सो कुराको जानकारी गराएका हुन् ।

केही दिन अघि देखि डिभिजन वन कार्यालय मकवानपुरले मकवानपुरगढीको वडा नम्बर ३, र ४,तथा वडा नं ५ र ६ मा समेत चितुवा रहेको जनाएको थियो । वडा नं ३ मा राखिएको सिसि क्यामेराले समेत सो स्थानमा जनावर रहेको पुष्टि गरेको थियो । साथै वन कार्यालयले सतर्क रहन गाउँबासि तथा सर्वसाधरणलाई आग्रह गरेको थियो र नियन्त्रणका लागि पासो थापिएको समेत जनाएको थियो । तर थापिएको उक्त पासोमा अहिलेसम्म चितुवा परेको छैन ।

केहिदिन अघि मात्र चितुवाले ३ र ४ नम्बर वडामा गाई , बाख्रा, घर पालुवा कुकुरलाई आक्रमण गरेको थियो । जसले गर्दा स्थानियबासीहरु समेत त्रसित भैरहेका छन् । साथै बुधबार मकवानपुरगढी ६ मा बाघले बाख्रा मारेको बताइएको छ ।

यसरी घरपालुवा जनावर माथि दिनहुँ झै भइरहेको आक्रमण तथा मानिससँग समेत चितुवाको जम्काभेट हुन थालेपछि स्थानीय झनै त्रसित भएका छन् ।

मुख्य समाचार समाचार समाज