धमिले कृषि सहकारीद्वारा किसानलाई कृषि यान्त्रिकरण हस्तान्तरण

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३, देविडाँडामा रहेकोे धमिले कृषि सहकारी संस्थाले आफ्ना सदस्य किसानहरुलाई कृषि यान्त्रिकरण हस्तान्तरण गरेको छ ।


मकवानपुरगढी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार संघीय सशर्त कृषि विकास कार्यक्रम अन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रममा नयाँ तेलहन बाली पकेट विकास कार्यक्रम तथा प्रदेश रैधाले बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण गरिएको हो ।

५० प्रतिशत अनुदानमा ४६ जना कृषकहरुलाई मिनिटिलर, स्प्रेयर पम्प लगायतका कृषि यान्त्रिकरण शुक्रबार हस्तान्तरण गरिएको हो ।

शुक्रबार वडा नं ३ मा रहेको संस्थाको कार्यालय देविडाँडामा भएको कृषि यान्त्रिकरण वितरण कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष स्याङ्तानले खेति गर्दा लागत कम गर्न प्रविधिको प्रयोगले किसानलाई धेरै नै राहत पुग्ने विचार राख्नुभएको थियो । मकवानपुरगढी गाउँपालिकामा पछिल्लो समय तोरी खेती बढिरहेको भन्दै शुद्ध तेल उत्पादन तर्फ लाग्नु पर्ने धारणा राख्नु भयो ।



प्रविधि हस्तान्तरण कार्यक्रममा विशिष्ट अतिथि वडा नं ३ का वडा अध्यक्ष भागवत घिमिरेले किसान मैत्री भएर काम गर्न सहकारीलाई सुझाव दिंदै सहकारीले गर्ने त्यस्ता कार्यक्रममा आफ्नो तथा वडा कार्यालयको तर्फबाट सदैव सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका कृषि शाखा प्रमुख गोपाल लम्साल, मकवानपुरगढी बृहत खानेपानी आयोजना दोस्रोका अध्यक्ष कृष्ण प्रसाद पोखरेल ,टोलविकास संस्थाका अध्यक्ष, संस्थाका सल्लाहकार लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, संस्थाका सदस्य तथा सेवाग्राहीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम नमूना तेलहन बाली पकेट समन्वय समिति मकवानपुरगढीका संयोजक समेत रहेका संस्थाका अध्यक्ष गोविन्द प्रसाद तिमल्सिनाको अध्यक्षतामा भएको हो ।

कृषि समाचार विज्ञान प्रविधि शिक्षा समाचार समाज सहकारी स्थानीय