चितवनमा उर्लिएको जनसागरले विरोधीको मुटु थर्किने र हर्ट एट्याक भै कतिलाई आइसीयुमा भर्ना गर्नुपर्ने हुन सक्छ : डोरमणि पौडेल



चितवन / बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य डोरमणि पौडेलले चितवनमा उर्लिएको जनसागरले विरोधीको मुटु थर्किने र हर्ट एट्याक भै कतिलाई आइसीयुमा भर्ना गर्नुपर्ने हुन सक्ने बताउनुभएको छ ।

नेकपा चितवनले शनिबार भरतपुरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै पौडेलले नेकपाको पक्षमा उर्लिएको जनसागर देखेर विरोधीको मुटु हल्लिएको बताउनुभएको हो ।
‘नारायणीको पुलबाट फालहाल्ने सम्भावना हुनसक्छ, आत्महत्या गर्नसक्छन्, त्यहाँ पनि हामीले निगरानी बढाउनु पर्ने छ, त्यसरी सिधै आत्महत्या गर्नदिनु हुँदैन ।’ मुख्यमन्त्री पौडेलले भन्नुभयो ।

केन्द्र र प्रदेश सरकारले शिर निहुराउनुपर्ने कुनै काम नगरेको बताउदै विरोधीले लगाएको आरोपको डिफेन्स लिनुपर्ने अवस्था नरहेको समेत पौडेलले बताउनुभयो । ‘यो सरकारले लुटतन्त्र मच्चाएन, भ्रष्टाचार गरेन, सरकारले नगरेको यही हो’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीले सुखी नेपाली समृद्ध नेपालको यात्रामा सबैलाई डोहोर्याएर अघि बढाउनुभएको पनि उहाँले प्रष्ट पार्नुभयो । ‘समृद्धिको यात्रा सम्पन्न नहुँदासम्म हामी यो महाअभियानमा लाग्ने छौँ’, पौडेलको प्रतिवद्धता थियो ।

पौडेलले भरतपुर महानगरपालिका प्रमुख एवं प्रचण्ड पुत्री रेणु दाहालले प्रधानमन्त्रीको कार्यक्रम वहिष्कार गरेकोमा कडा आलोचना गनुभएको थियो । ‘मतपत्र चपाएर, मतपत्र च्यातेर विजय हुनेहरु प्रधानमन्त्रीको उपस्थितिमा नआएर बहिष्कार गरेर बसेका छन्, बहिष्कारको विज्ञप्ति निकालेर बसेका छन्, म प्रश्न गर्छु, कसको जुठोपुरो खाएर बसेको ? कसले उल्कायो ?’ मुख्यमन्त्री पौडेलले भन्नुभयो ।

प्रदेश समाचार मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति समाचार