म्यानमारमा सैनिक ‘कू’, सेनाले सत्ता हातमा लिँदै संकटकाल घोषणा

म्यानमारका सैनिक प्रमुख मिन आङ हलिङ्ग

काठमाण्डाै / म्यानमारमा सैन्य ‘कू’ पछि सङ्कटकाल घोषणा गरिएको छ । त्यहाँको सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ ।

राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी लगायतका सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरूलाई हिरासतमा लिदै सेनाले सत्ता कब्जा गरेको हो । सेनाको टेलिभिजनले एक वर्षका लागि सङ्कटकाल घोषणा गरिएको जनाएको बीबीसीले जनाएको छ । सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म बर्मा भनेर परिचित म्यानमारमा सेनाले शासन गर्दै आएको थियो ।

केही दिनयता जारी सरकार र सेनाबीचको तनाव र सत्ता पलटको आशंकाबीच म्यानमारमा सैनिक कू भएको हो । सेनाले सोमबार तय भएको संसद बैठक पनि खारेज गरेको छ । गत नोभेम्बर महिनामा भएको निर्वाचनमा सुकीको पार्टी भारी मतसहित विजयी भएको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएको छ ।

बीबीसीका अनुसार म्यानमारको राजधानीसहितका मुख्य–मुख्य शहरमा सैनिकको तैनाथी बढाइएको छ । राजधानीमा टेलिफोन र इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।

अन्तराष्ट्रिय मुख्य समाचार मुख्य समाचार (flash news) समाचार