संसद सचिवालयले नेकपाका नवनियुक्त मुख्य सचेतक भट्टराईलाई मान्यता दियो

काठमाडौं- संसद सचिवालयले सत्तारुढ नेकपाको संसदीय दलको मुख्य सचेतकका रुपमा विशाल भट्टराईलाई मान्यता दिएको छ ।

प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रवार देव गुरुङलाई मुख्य सचेतकबाट हटाई भट्टराईलाई नियुक्त गरेका थिए । शनिवार सार्वजनिक विदा भएकाले आइतवारदेखि भट्टराईलाई सत्तापक्षको मुख्य सचेतकले पाउने सवारी लगायतका सुविधाको प्रक्रिया अघि बढाइएको छ ।

‘हामीलाई भट्टराई पार्टीको मुख्य सचेतकमा नियुक्ति गरिएको पत्र प्राप्त भएको छ ।’ स‌ंघीय स‌सद सचिवालयका प्रवक्ता डा‍. रोजनाथ पाण्डेले भने, त्यसै अनुसार सचिवालयले उहाँको कार्यकक्ष निर्माण गरेको छ, र आजैदेखि सेवा सुविधा गणना हुनेछ ।’

उनका अनुसार  भट्टराईले सवारी सुबिधा बुझिसकेका छन् भने सचिवालयले पनि नेकपाको प्रमुख सचेतकका रुपमा पत्राचार गर्न शाखामा पत्राचार गरेको छ ।

सचिवालयले नेकपा मुख्य सचेतकका रुपमा देव गुरुङले प्रयोग गरेका गाडी सुबिधा फिर्ताका लागि आग्रह गर्ने र आफैंले फिर्ता नगरेमा पत्राचार गरिने अनि फिर्ता नभए सचिवालयले नै गाडी फिर्ता गर्ने एक उच्च अधिकारीले बताए ।

कानुन र सम्बन्धित संसदीय दलको विधान अनुसार दलको नेताले मुख्य सचेतक र सचेतक नियुक्ति गर्न पाउने भएकाले सचिवालयले यसमा नेकपाको विवादभित्र पस्न नमिल्ने ती अधिकारीले बताएका छन् ।

मुख्य समाचार मुख्य समाचार (flash news) राजनीति