बुधबार देशभरमा ८ हजार ६०५ जना संक्रमित थपिए , ५८ जनाले ज्यान गुमाए

बुधबार नेपालमा कोरोनाभाइरसका आठ हजार ६०५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० हजार ७५६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ६०५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दिदै कोभिड १९ अन्तर्गतका प्रवक्ता डा. जागेश्वर गौतमले गत् सोमबारदेखि बुधबारसम्म ५३ हजार ५४५ जनाको परीक्षण गरिएकोमा २३ हजार ७१३ जनामा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो ।

पछिल्लो चौबीस घण्टामा ६१६ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ५४ जनामा पोजेटिभ पाइएको पनि उहाँले बताउनुभयो । मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख ५९ हजार ६६० पुगेको छ भने पछिल्लो चौबीस घण्टामा एक हजार ९९३ जना सङ्क्रमित कोरोनामुक्त भएको डा. गौतमले बताउनुभयो । हालसम्म दुई लाख ८९ हजार ७८३ कोरोनामुक्त भएका छन् ।

यसैगरी पछिल्लो चौबीस घण्टामा ५८ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ४७५ पुगेको छ ।

मुख्य समाचार मुख्य समाचार (flash news) स्वास्थ्य