भीमेश्वर मन्दिरको शिलामा ‘पसिना´ आयो, यस्तो छ धार्मिक मान्यता

दोलखा / दोलखा भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १९ औं पटक पसिना आएको छ।
एक शिला तीन अवतारको रुपमा पुजिने दोलखाको भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ।

यसअघि २०७७ मंसिर ९ गते १८ औं पटक र २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो। २०७७ मंसिर पछि पाँच महिना नपुग्दै एकै वर्षमा दुई पटक पसिना आएकोले देशमा अनिष्ट हुने गुठियारहरुले अनुमान लगाएका छन्।
आज मध्यान्ह सवा १२ बजेदेखि भीमेश्वरको शिलामा निरन्तर पसिना आइरहेको छ। भीमेश्वर मन्दिर तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले १९ औं पटक पसिना आएको बताउनुभयो ।
भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएको उहाँले जानकारी दिनुभयो ।

दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ। भीमेश्वरको शिलामा पसिना आए पछि मन्दिर व्यवस्थापन तथा गुठियारहरुले स्थानीय रुपमा क्षमा पूजा गरेका छन्। भीमेश्वरलाई पसिना आउँदा घण्टा, नगरा, झ्याली, बाजा बजाएर क्षमा पुजा गर्ने चलन भएपनि निषेधाज्ञाको कारण नबजाइएको समितिले जनाएको छ।

थप क्षमा पूजाको लागि शिलामा आएको पसिना पुछेको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालयमार्फत राष्ट्रपतिको कार्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ।

मुख्य समाचार मुख्य समाचार (flash news) समाचार समाज