रोङ्सी खोला खुलेसँगै तामाकोसी नदिमा तत्काल बाढीको जोखिम टर्यो


हेटौंडा । पहिरोले थुनिएको तिब्बततर्फको रोङसी खोलाको जलाशयबाट पानीको निकास गराउन चिनियाँ पक्ष सफल भएको छ ।
शुक्रबार राति चीनको तीङग्री काउन्टी नजिकै पहिरोले तामाकोसीको सहायक रोङसी खोला थुनिएको ३५ घण्टापछि पानीको निकास दिइएको हो । जलाशय बनेको रोङसी खोलाबाट चिनियाँ टोलीले सुरक्षित रूपमा पानीको निकास गराएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । पहिरोले थुनिएको जलाशयमा एक लाख घनमिटरभन्दा बढी पानी जम्मा भएको थियो । आज बिहानैबाट चिनियाँ पक्षले जलाशयबाट पानीको निकास दिने गरी काम थालेको थियो । सावधानी अपनाएर उक्त जलाशयबाट पानीको निकास दिइएको चिनियाँ पक्षले जनाएको छ । एकै पटकमा जलाशय फुटाए तामाकोसी नदीमा पानीको बहाव उच्च हुने र ठूलो संकट आउन सक्ने आंकलन गरिएको थियो । सुरक्षित रुपमा पानीलाई निकास दिएसगै तत्कालका लागि तामाकोसी तटीय क्षेत्रमा संकट टरेको छ । माथिल्लो भेगमा वर्षा जारी रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन भने आग्रह गरिएको छ । रोङसीको निकासपछि तामाकोसी बहावमा केही उतारचढाव आएको छ । तामाकोशीमा बाढी आएमा दुई देशको सिमानामा रहेका बस्तीसहित दोलखाको लामाबगर, गोंगर, सिंगटी, तामाकोशी, सितली, किर्नेटार तथा रामेछापको मन्थली र सिन्धुलीको खुर्कोट बजारसम्म क्षति हुन सक्ने अनुमान छ ।०००

मुख्य समाचार