पर्यटनका क्षेत्रमा मकवानपुरगढी गाउँपालिकाको आगामीवर्ष ०७८/०७९ का योजना

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका आफैमा पर्यटनको हिसाबले प्रचुर सम्भावना बोकेको गाउँपालिका हो । तसर्थ आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम अनुसार पर्यटनका क्षेत्रमा मकवानपुरगढी गाउँपालिकाले विभिन्न योजनाहरु गाउँसभामा प्रस्तुत गरेको छ ।

गाउँपालिका भित्रका मनकामना क्षेत्रमा हेटौंडा भ्यु प्वाइन्ट , रुद्रबाटिका क्षेत्र , पशुमैत्री पार्क , जलेश्वरधाम , मातातिर्थधाम , धरमपानी ऐतिहासिक विजयपार्क , ढुङ्गेगढी आनन्द शान्ति पार्क , रानीबास एग्रो टुरिज्म पार्क , सुकौरा पल उर्गेन देछेन छोइलिङ गुम्बा , ऋषेश्वर गुफा संरक्षण , ऐतिहासिक मकवानपुरगढी दरबार जस्ता महत्वपूर्ण पर्यटकीय क्षेत्रको विकास तथा भएका संरचनाहरुको संरक्षण गरि विस्तृत परियोजना प्रतिवेदन (D.P.R.) सहित “एकीकृत पर्यटन विकास कार्यक्रम” को गुरुयोजना तयार गरि प्रदेश र केन्द्रिय सरकार , साझेदारी सहयोगी दातृ निकाय खोजी गरि थप विकास र संरचना निर्माणको लागि बजेट विनियोजन सहित कार्य प्रारम्भ हुनेछ ।

गाउँपालिकालाई महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको रुपमा विकाश गर्नेगरि वडा नम्बर १ देखि वडा नम्बर ८ सम्म अध्ययन गरी होमस्टे , गेष्टहाउस तथा ठुला होटलहरु संचालन गर्न स्थानीय जनता तथा बाह्य लगानीकर्तालाई उत्प्रेरित गर्ने योजना रहेको छ । साथै सामरीपुल देखि डुम्रेकुना , मकवानपुरगढी हुँदै मनकामना सम्मको सडकलाई ब्यवस्थित गरि हरित सडकको रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षक गर्न साईक्लिङ्ग ट्र्याक निर्माणको सुरुवात हुनेछ । यसका लागि सम्बन्धित साझेदार निकायहरुको सहयोग र सहकार्यको लागि खोजी हुनेछ ।

वडा नम्बर २ देखि वडा नम्बर ७ सुकौरा महादेवडाँडा हुँदै बुढिचौर सम्म पर्यटक ट्रेकिङ मार्गको रुपमा अगाडि बढाउन सम्भाब्यता अध्ययन हुनेछ । साथै पृथ्वीनारायण शाहाले नेपाल एकीकरणको महान अभियानमा उपयोग गरेको भनिएको पदमार्ग खुँडेधारबाट “ऐतिहासिक पर्यटकिय मार्ग” को रुपमा विकास गर्ने कार्यलाई थप विस्तार गरिने योजनामा उल्लेख छ ।

मौलिक संस्कृति , प्राकृतिक सौन्दर्यता , मौलिकता र ऐतिहासिक पहिचानलाई प्रमुख आधार बनाई पर्यटन क्षेत्रको गुरुयोजना तयार गरि पर्यटकिय क्षेत्रमा आवश्यक निति निर्माणका साथ गाउँपालिका , जनता र निजिक्षेत्र बिचको साझेदारीमा लगानीको वातावरण तयार गरिनेछ ।

पर्यटन विकासलाई प्रवर्द्धन गर्नेगरी पर्यटकीय स्थान विशेष संरक्षण तथा सहयोग समिति गठन तथा संस्थागत विकास हुनेगरी गाउँपालिका स्तरीय पर्यटन विकास समिति गठन गर्ने गाउँपालिकाले योजना बनाएको छ ।

गाउँपालिका भित्र उपयुुक्त स्थानको अध्ययन गरि साहसिक खेल प्याराग्लाइडिङ तथा बन्जिजम्पिङको सम्भाब्यता देखिएमा आउँदो वर्ष त्यसको डिपिआर तयार हुनेछ । आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवर्द्धन गर्न पर्यटकीय क्षेत्रहरुको प्रचार-प्रसारका लागि रेडियो कार्यक्रम , डकुमेन्ट्री निर्माण गर्ने तथा होडिङ्बोर्ड राख्ने कार्य प्राथमिकता भित्र पर्नेछ ।

मकवानपुरगढी गाउँपालिकाको पहिचान , समृद्धिको आधार पर्यटन” भन्ने नारालाई सार्थकता दिन गाउँपालिका भित्र संचालित होटलहरुमा पाहुना सत्कार तथा हस्पिटालिटि सम्बन्धि तालिमहरुको आयोजना गर्ने गाउँपालिकाले आगामी वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । गाउँपालिकाको गाउँसभा जारी नै रहेकोले आवश्यक छलफल गरि योजनाहरुको टुङ्गो लाग्नेछ ।

पर्यटन मुख्य समाचार स्थानीय