दर्ता नभएको मोबाइल नचल्ने हल्लाले एनटीएको सिस्टम डाउन

काठमाडौं । मोबाइल सेटको आईएमईआई दर्ता प्रणाली अवरुद्ध भएको छ । एकै पटक धेरैले आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न खोजेपछि प्रणालीमा समस्या आएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानूनी आयात, बिक्री, वितरणलाई निरुत्सान गर्नका लागि दर्ता गर्ने प्रावधान ल्याएको छ । जसअनुसार देश बाहिरबाट ल्याइएका मोबाइलको आईएमईआई अनिवार्य दर्ता गर्नुपर्ने हुन्छ । तर, सबैले दर्ता गर्न थालेपछि दर्ता प्रणालीमै समस्या आई अवरोध भएको प्राधिकरणले जनाएको छ ।

नयाँ प्रवाधान अनुसार आईएमईआई दर्ता नभएका मोबाइल सेट चल्ने छैनन् । साउन १ गतेदेखि नै यस्ता मोबाइल सेट चलाउन नमिल्ने गरी काम गरे पनि दर्ता प्रणालीमै समस्या भएपछि यो प्रक्रिया रोकिएको छ ।

मोबाइल प्रयोगकर्तमा अन्योलता बढेपछि प्राधिकरणले सूचना जारी गरी नियमअनुसार आयात भई नेपालमै खरीद गरी चलाएका मोबाइलको आईएमईआई दर्ता गर्नु नपर्ने बताएको छ ।

हाल दर्ता प्रणालीमै समस्या भएकोले विदेशबाट ल्याएका मोबाइल सेटमा पनि तत्कालका लागि सेवा अवरुद्ध नहुने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।

मुख्य समाचार