कोरोना नियन्त्रणकालागि छुट्टै स्वायत्त निकाय गठन गर्न विज्ञहरुको सुझाव

नारायण श्रेष्ठ/ हेटौंडा ।

विज्ञहरुले कोरोना महामारी नियन्त्रणका लागि अन्य देशमा जस्तै नेपालमा पनि एउटा छुट्टै स्वायत्त निकाय गठन गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा सहभागी स्वास्थ्य क्षेत्रका विज्ञहरुले समयमा समयमा आउने महामारी र स्वास्थ्यजन्य समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालय भन्दा भिन्न स्वायत्त निकाय बनाउनु पर्ने सुझाव दिएका हुन् । छाती रोग विशेषज्ञ डाक्टर अर्जुन कार्कीले कोभिड १९ महामारीले नेपालको स्वास्थ्य संरचनाको वास्तविकता उजागर गर्दै सरकार र सरकारी संरचनाले मात्रै नियन्त्रण रोकथाम र उपचार गर्न सक्तैन भन्ने प्रमाणित गरेको बताउनुभयो ।
सरुवा रोग विशेषज्ञ डाक्टर शेखर पुनले भेरोसेल खोप चाईनामा ७९ प्रतिशत प्रभावकारी रहेको खोज अनुसन्धानले देखाएको भन्दै खोपको प्रभावकारीता माथि शंका नगर्न आग्रह गर्नुभयो । उहाँले कडा प्रयोग र परीक्षण पछि मात्रै आउने भएकाले खोपहरुमाथि कुनै शंका गर्नुपर्ने आवश्यकता नभएको बताउनुभयो । कुनै उमेर समुहलाई कोभिड नलाग्ने भन्ने नहुने भन्दै उहाँले स्वास्थ्य मापदण्ड अपनाउनुको विकल्प नभएको बताउनुभयो । छलफलमा समिति सदस्यहरुले कोभिड १९ को वर्तमान अवस्था, प्रकृति, स्वास्थ्य क्षेत्रमा पारेको प्रभाव लगायतबारे विज्ञहरुसंग जिज्ञासा राखेका थिए ।०००

मुख्य समाचार