माओवादी केन्द्र भूमिगत शैलीमा चलिरहेको पूर्व माओवादी नेताहरुको आरोप

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रको वैधता नरहेको बताउनुभएको छ ।

आज माओवादी केन्द्र खारेजीको लागि निर्वाचन आयोगमा परेको निवेदनको सम्बन्धमा बुझ्न आयोगको कार्यालयमा पुग्नुभएका नेता रायमाझीले २९ वर्षदेखि महाधिवेशन नभएको माओवादी केन्द्रको २०६९ मा नाममात्रैको महाधिवेशन भए पनि त्यसपछि नभएका कारण पार्टीनै अवैध रहेको टिप्पणी गर्नुभएको हो । उहाँले माओवादी केन्द्र नेपालको संविधान, कानुन र राजनीतिक दलसम्बन्धी ऐन अनुसार नचली अझै भूमिगत र छापामार शैलीले चलेको आरोप लगाउनु भयो ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले माओवादी केन्द्र पार्टी खारेजीको माग हास्यास्पद भएको प्रतिक्रिया दिएको छ । माओवादी केन्द्रले आज एक विज्ञप्ति जारी गर्दै सामान्य कानूनी प्रक्रियाका बारेमा समेत जानकारी नभएकाहरूले दल दर्ता खारेजीको माग गर्नु हास्यास्पद भएको बताएको हो । केही व्यक्तिहरु दुष्प्रचार गरी पार्टीलाई कसरी बदनाम गराउन सकिन्छ भन्ने मनशायले परिचालित भएको विज्ञप्तिमा उल्लेख छ । पूर्व माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र खारेजीको माग गर्दै हिजो निर्वाचन आयोगमा निवेदन दिएका थिए ।०००

मुख्य समाचार राजनीति