कार्यदलको बैठक सिंहदरबारमा जारी, के आज एमाले एकताको घोषणा होला ?

काठमाडौं । आन्तरिक विवाद समाधानमा जुटेका दोस्रो तहका नेताहरु सम्मिलित  एमालेको कार्यदल बैठक सिंहदरबारमा सुरु भएको छ । 

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बिहान आठ बजे बस्ने भनिए पनि कार्यदलमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा जुटेपछि बैठक करिब डेढ घण्टा ढिला सुरु भएको हो । कार्यदलका सदस्यहरुले नेता नेपालसँग वार्तामा भएको प्रगतिबारे जानकारी दिएका थिए । स्रोतका अनुसार कार्यदलले आजै मस्यौदा टुंग्याउने तयारी गरेको छ । शनिबार कार्यदलको बैठकपछि नेता नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठक बसेको थियो ।

नेपालसँग नेताहरु भीम रावल,सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र भीम आचार्यले छलफल गरेका थिए । यसो त शनिबार राति पनि नेता नेपाल समूहको स्थायी कमिटी बैठकमा कार्यदल तहमा जुटेको सहमतिबारे छलफल भएको थियो ।

सर्वोच्च अदालतले नेकपा भंग गरिदिएपछि ब्युँतिएको एमालेमा आन्तरिक विवाद उत्कर्समा पुगेपछि ओली र नेपालबीच १० सदस्यीय कार्यदल बनाएर समस्या समाधानको कोसिस गर्ने सहमति भएको थियो । सोहीअनुसार गत जेठ २ मा बनेको कार्यदलमा विभिन्न चरणमा भएका औपचारिक अनौपचारिक छलफलमा सदस्यहरुले सहमति जुटाएका हुन् ।

तर, कार्यदलले ओली र नेपालको कार्यविभाजनको विषयमा भने कुनै टुंगो लगाएको छैन् । कार्यदल सदस्यहरुले यो विषय शीर्ष दुई नेता बसेर मात्र टुंगाउन सम्भव हुने बताउँदै आएका छन् ।

मुख्य समाचार समाचार