शेरबहादुर देउवालाई विश्वासको मत नदिने एमालेको निर्णय

काठमाण्डौ । नेकपा एमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
आज तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले पार्टीको उक्त निर्णय मान्न सांसदहरुलाई निर्देशन समेत दिएको छ । यस्तै आजको स्थायी कमिटी बैठकले नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलले गरेको दसबुँदे सहमति अनुमोदन गरेको प्रवक्ता ज्ञवाली जानकारी दिनुभयो । उहाँका अनुसार सहमति अनुमोदन भएसँगै कार्यदल विघटन भएको छ ।

आजको बैठक एकपक्षीय रुपमा बोलाएको भन्दै नेपाल–खनाल पक्षका नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट लगायतका नेताहरुले बैठक स्थल पुगेर ओलीलाई बैठक रोक्न आग्रह गरेका थिए । तर ओलीले बैठक रोक्न नसकिने भन्दै विषयवस्तुलाई अघि बढाउन निर्देशन दिनुभएको थियो । ओलीले बैठक रोक्न अस्विकार गरेपछि नेपाल समुहका नेताहरु भने बैठकबाट बाहिरिएका छन ।

एमालेभित्र देखिएको विवाद मिलाउन ओली र वरिष्ठ नेता नेपालले बनाएको कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको थियो । यस्तै, अध्यक्ष ओलीले आजै संसदीय दलको बैठक समेत बोलाउनु भएको छ ।०००

 

मुख्य समाचार राजनीति