एमालेले नेपाल पक्षका २२ सांसदलाई कारवाही गर्ने

काठमाण्डौं । नेकपा एमालेले पार्टी निर्णय अवज्ञा गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई अनुशासनको कारवाही गर्ने भएको छ ।

केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राख्नु भएको हो । तर, बैठक हलमा उपस्थित सबै केन्द्रीय सदस्यले स्पष्टीकरणको आवश्यकता नरहेका भन्दै तत्कालै कारवाही हुनुपर्ने माग राखेपछि केहीबेर बैठकमा हो–हल्ला भएको थियो ।

बैठकमा महेश बस्नेत, खिमलाल भट्टराई, कृष्ण राई लगायतका सदस्यहरुले आजै पार्टीबाट निकाल्नुपर्ने माग राखेका थिए । सर्वोच्च अदालतले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरु कारवाही नगर्न परामादेश दिएको छ । तर, पार्टीले विधान अनुसार राजनीतिक निर्णय गर्न सक्ने एमालेले जनाएको छ ।

सांसद पदबाट हटाउन नमिले पनि पार्टी अनुशासन नमान्नेमाथि पार्टीका जिम्मेवारीबाट हटाउने र सदस्यबाट समेत हटाउन सक्ने एमालेको दावी छ ।०००

मुख्य समाचार राजनीति