कक्षा १२ को परीक्षा साउन ३१ बाट शुरु हुने

काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट शुरु हुने भएको छ ।

मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा ३१ साउनदेखि ९ भदौसम्म सञ्चालन गर्ने निर्णय गरेको हो। स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा गर्ने निर्णय भएको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्वास्थ्य मापदण्ड पालना गरेर कक्षा १२ को परीक्षा सञ्चालन गर्न अनुमित दिएको थियो। सीसीएमसीले अनुमति दिएसँगै बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
यससँगै बोर्डले कक्षा १२ को परीक्षाका लागि विद्यालयमै परीक्षा केन्द्र (होम सेन्टर) कायम गरेको सदस्य सचिव अर्यालले जानकारी दिए। जसअनुसार, देशभर चार हजार ३१० परीक्षा केन्द्र कायम भएका छन्।

यसअघि कक्षा १२ को परीषा जेठमा गर्ने तय भएको थियो। कोरोनाको दोस्रो लहर चलेपछि स्थगित गरिएको थियो। कक्षा १२ मा तीन लाख ७५ हजार विद्यार्थी छन्।

त्यस्तै, कक्षा १२ को परीक्षा सकिएपछि कक्षा ११ को आंशिक परीक्षा हुने भएको छ। कक्षा ११ का नियमित परीक्षाको जिम्मा भने विद्यालयलाई नै दिइएको छ।

मुख्य समाचार