स्वास्थ्य मन्त्रालयले भन्यो– तेस्रो लहरको जोखिम छ, पूर्वतयारी गर्नू

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक साता यता कोरोना संक्रमण दर फेरि बढेको बताएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गरी चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन समेत भनेको छ । निषेधाज्ञा खुकुलो भएपछि जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेको भन्दै मन्त्रालयले यस अवधिमा कोरोना संक्रमण घट्न नसकेको उल्लेख गरेको छ । अहिले १० जिल्लामा ५ सय भन्दा बढी र २६ जिल्लामा २ सय बढी सक्रिय संक्रमित रहेको भन्दै स्वास्थ्य मन्त्रालयले संक्रमणको जोखिम अझै बढिरहेको बताएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले खोप केन्द्रहरुमा हुने भिडले संक्रमणको जोखिम बढाएको बताउनुभयो । मन्त्रालयले खोप लगाउन जाँदा आफ्नो पालोमा लगाउन र जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने तर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरुलाई आवश्यक पूर्वाधार अक्सिजन, शैय्यासहित तयारी अवस्थामा रहन मन्त्रालयले अनुरोध समेत गरेको छ । ०००

मुख्य समाचार स्वास्थ्य