दुधमा प्रति लिटर ३ रुपैयाँ अनुदान दिन्छौं-गाउँपालिका अध्यक्ष सर्केस घलान

मकवानपुर – बागमती गाउँपालिका अध्यक्ष सर्केस घलानले किसानलाई दुधमा प्रति लिटर ३ रुपैयाँँ अनुदान दिने घोषणा गर्नुभएको छ । फापरबारी बजारमा रहेको फापरबारी दुग्ध उत्पादक सहकारी संस्थाले शनिबार आयोजना गरेको किसानसँगको अन्तरक्रिया कार्यक्रममा किसानले उठाएका विषयवस्तु माथि आफ्ना भनाइ राख्दै अध्यक्ष घलानले सो कुरा बताउनुभएको हो । त्यसका लागि सहकारी मार्फत दुधको कारोबार गर्नुपर्ने छ ।

अबको क्रान्ति उत्पादनमा आधारित हुनुपर्ने भन्दै आफ्ना बाँझो रहेको जग्गालाई कृषि तथा पशुपालनमा प्रयोग गर्न अनुरोध गर्नुभयो । बागमती गाउँपालिकामा दुग्ध उत्पादन वृद्धि गर्नका लागि दुहुना पशु (गाईभैसी) खरिदका लागि गाउँपालिकाले अनुदान उपलब्ध गराएको र आगामी आवमा पनि अनुदानको लागि बजेट विनियोजन गरिएको बताउनुभयो । आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकाले फापरवारि दुग्ध उत्पादक सहकारी संस्थालाई चिलिङ भ्याट तथा मिल्क एनालाईजर सिस्टम खरिदका लागि अनुदान दिएको भन्दै यस चालू आवमा पनि पालिकाको अन्य ठाउँका लागि सोही अनुसारको कार्य गर्न अनुदान दिन बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

संस्थाका उपाध्यक्ष शोभा घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा दुधको गुणस्तर परिक्षण तथा भुक्तानी प्रणालीका विषयमा समेत किसानहरूले जिज्ञासा राखेकोमा मिल्क एनालाईजर प्रविधिका बारेमा प्राविधिक गोविन्द तिमल्सिना र जिल्ला दुग्ध सहकारी संघका ब्यवस्थापक कुमारमणी दाहालले जिल्ला सहकारी संघको महत्त्व , दुधको भुक्तानी प्रणाली तथा छलफलमा उठेका विषयवस्तु माथि प्रष्ट पार्नुभएको थियो ।

अतिथिका तर्फबाट आफ्ना भनाई राख्दै हात्तीसुँडे दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष तोयानाथ दाहालले सहकारीको महत्व र पशुआहाराका रुपमा खुवाउने गरिएको घाँसका विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका कार्यकारी अधिकृत शुक्र मान राई ,६ नं वडा अध्यक्ष ध्रुब थापा मगर, कानुन ब्यवसायी तथा गाउँपालिकाका कानुनी सल्लाहकार प्रेम बहादुर थोकर लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संस्थाका सचीव पुण्यप्रसाद सापकोटा (दिपक) ले गर्नुभएको हो ।

प्रदेश समाचार मुख्य समाचार समाचार सहकारी